close

दोभान बजारका अग्निपीडितले पाए ग्यास र चुह्लो

दोभान बजारका अग्निपीडितले पाए ग्यास र चुह्लो

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको मेरिङ्देन गाउँपालिका वडा नम्बर ३ खाम्लुङको दोभान बजारका अग्निपीडितलाई प्रदेश सरकार र मध्यमेवा जलविद्युत परियोजनाले खाना पकाउने ग्यास सिलिन्डर तथा ग्यास चुह्लो सहयोग गरेका छन् । 

 

प्रदेश १ सरकारले ६० जना पीडित परिवारका लागि १-१ थान ग्यास सिलिन्डर तथा मध्यमेवा जलविद्युत् परियोजनाले लागि १-१ थान ग्याँस चुल्हो प्रदान गरेका हुन् ।

 

जिल्ला विपद् व्यवस्थापन समिति संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले सोमबार अग्निपीडितलाइ सहयोग सामग्री वितरण गरे । प्रदेश १ ले अग्निपीडित परिवारका लागि आपतकालीन राहतस्वरूप १-१ थान नयाँ ग्यास सिलिन्डर दिने घोषणा गरेको थियो । 

 

२० फागुनमा आगलागी क्षेत्र दोभान बजार आएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अग्निपीडितका लागि आपतकालीन राहतस्वरूप १-१ थान ग्यास सिलिन्डर प्रदान गर्ने बताएका थिए । प्रदेश सरकारले ग्यास सिलिन्डर दिने भएपछि मध्यमेवा जलविद्युत परियोजनाले ग्यास चुह्लो दिने घोषणा गरेको थियो ।

 

आगलागीग्रस्त क्षेत्र मेरिङ्देन गाउँपालिकाको वडा नम्बर ३ का खाम्लुङका वडाध्यक्ष गणेशप्रसाद भण्डारीको रोहबरमा ती सामग्री अग्निपीडितलाई प्रदान गरिएको छ । प्रदेश १ सरकारले अग्निपीडितमध्ये घर जलेका परिवारलाई प्रति परिवार ५० हजार र डेरा भाडामा बस्नेलाई प्रतिपरिवार ३० हजार रुपैयाँका दरले राहत रकम दिने घोषणा गरेको छ ।

 

संघीय सरकारले दिने भनेको १ लाख रुपैयाँ राहत रकम पनि जिल्ला प्रशासन कार्यालयको खातामा आइसकेको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए । यो रकम घरबार पूर्ण रूपमा जलेका र अन्यत्र घर नभएका सदस्यले मात्र पाउने कानुनी प्रावधान छ । मेरिङ्देन गाउँपालिकालाई यसबारे जानकारी गराइएको प्रजिअ पाण्डेले बताए ।


राहत वितरण कार्यक्रममा जिल्ला प्रहरी प्रमुख बालनरसिंह राणा, सशस्त्र प्रहरी बल नम्बर १ गुल्म कञ्चनजंघा हेडक्वार्टरका गुल्मपति रोशन बुढाथोकी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय ताप्लेजुङका प्रमुख दुर्गा चापागाईंसहितको उपस्थिति थियो ।