लिभिङ टुगेदरको पिरलोः वर्षाैसम्म सँगै, बिहे अर्कैसँग


  • change font
  • change font
  • change font

काठमाडौं– धादिङका २७ वर्षीय अशोक (नाम परिवर्तन) र काभ्रेकी २५ वर्षीया सीता (नाम परिवर्तन) लिभिङ टुगेदरमा बस्दै आएका छन् । सामाजिक सञ्जालमार्फत चिनजान भएपछि यो जोडी ५ वर्षदेखि सँगै बस्दै आएको हो । औपचारिक विवाह नगरे पनि उनीहरूको सम्बन्ध पति–पत्नीजस्तै थियो । 

 

उनीहरू प्रेम सम्बन्धमा भएको परिवारलाई थाहा थियो । परिवारको सहमतिमा विवाह गर्ने कुरा अगाडि बढेको थियो । तर, केटाले विवाह गर्न नमानेको भन्दै सीता राष्ट्रिय महिला आयोगको शरणमा पुगिन् । ‘आफू लामो समयदेखि सँगै बसेको, दुवैको घर–परिवारमा थाहा भइसकेको तर अहिले केटाले विवाह गर्न नचाहेको जस्तो व्यवहार देखाएकाले न्यायका लागि आयोग आएको बताइन् । 


सिन्धुपाल्चोक घर भई हाल मैतीदेवी बस्दै आएका २५ वर्षीय मनोज (नाम परिवर्तन) २ वर्षदेखि आफ्नी प्रेमिकासँग लिभिङ टुगेदरमा छन् । सामाजिक सञ्जालमार्फत ३ वर्षअगाडि २२ वर्षीया रीता (नाम परिवर्तन) सँग उनको भेट भएको थियो । केटा क्षेत्री, केटी नेवार परिवारका ।

 

जातका कारण घरमा आफ्नो प्रेमलाई परिवारले स्वीकृत नदिने भन्दै दुवै जनाले एक्लै बस्दै आएको बताए । सीता गर्भवती भएपछि आफ्नो जात नमिल्ने भएकाले विवाह गर्न नसक्ने भन्दै गर्भपतन गर्न दबाब दिइयो । आफू गर्भपतन गर्न तयार नभएको र प्रेमीले दबाब दिएको भन्दै उनी पनि आयोगको शरणमा पुगिन् । 

 

गोरखाका २८ वर्षीय विनोद कुमार (नाम परिवर्तन) र गोरखाकै २५ वर्षीया अनिता खत्री (नाम परिवर्तन) करिब ८ वर्षदेखि काठमाडौंमा ‘लिभ–इन रिलेसनसिप’ मा थिए । यसबीचमा विनोद भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया गए । कोरियामा रहँदा पनि विनोद र अनिताबीच सुमधुर सम्बन्ध रह्यो । विनोदले अनितालाई नियमित रूपमा पैसा र उपहार पठाइरहे । तर, कोरियाबाट फर्केपछि भने विनोदले अनितासँग बिहे गर्न अस्वीकार गरे । 

 

आफू कोरियामा भएका बेला अनिताले नेपालमा अर्कै केटासँग सम्बन्ध जोडेको र कोरियाबाट पठाएका उपहार केटा साथीलाई दिएको विनोदको दाबी छ । यस्ता उजुरी मासिक ४–५ वटा आउने गरेको राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली बताउँछिन् । 

 

विवाहमा समस्या 


बढ्दो आधुनिकतासँग नेपालका सहरी क्षेत्रमा ‘लिभिङ टुगेदर’ को संस्कृति मौलाउँदै गएको छ । लिभिङ टुगेदरमा सर्वसाधारणदेखि उच्च तहका व्यक्तिसमेत बस्ने गरेको घटनाहरूले देखाएका छन् । लिभिङ टुगेदरमा देखिँदै आएका समस्याबारे जानकार नै यस्तो सम्बन्धमा बस्ने गरेको कतिपय घटनाक्रमले देखाएका छन् । लामो समयदेखि लिभिङ टुगेदरमा बस्दै आएका जोडीको विवाहको कुरा निस्केपछि समस्या देखिने गरेको छ । 

 

प्रमाण नहुँदा पश्चाताप


‘लिभिङ टुगेदर’ सम्बन्धी उजुरीको अनुसन्धानका लागि प्रहरी र कानुनी निकायलाई सबैभन्दा मुस्किल काम प्रमाण जुटाउनु देखिएको छ । यस्ता घटनामा प्रायः प्रमाण भेट्याउन गाह्रो पर्ने प्रहरी अधिकारी बताउँछन् ।

 

लिभिङ टुगेदरलाई नेपाली समाजले सहजै पचाएको छैन । अधिकांश जोडीहरू लुकीछिपी नै लिभिङ टुगेदरको रूपमा बस्ने गरेका छन् । लिभिङ टुगेदरबारे छुट्टै कानुन पनि छ । सहमतिमा लिभिङ टुगेदर बस्ने अनि मतभेद भएपछि रिस फेर्न सामाजिक सञ्जालको दुरुपयोग गर्ने प्रवृत्ति पनि केही समययता बढेको छ ।

 

पछिल्लो पुस्ता यौनका मामलामा स्वतन्त्र हुन खोजिरहेको, सामाजिक र कानुनी रूपमा विवाह नगरी सँगै बस्न रुचाउने अनि पीडित हुँदा पनि कानुनी उपचार खोज्न झन्झट मान्ने प्रवृत्तिका कारण महिला बढी पीडित भएको आयोगको भनाइ छ ।

 

लिभिङ टुगेदरसम्बन्धी उजुरी लिएर आउनेमध्ये अधिकांश घटनामा महिला पीडित हुने गरेको महिला सेवा केन्द्र कालीमाटीले जनाएको छ । केन्द्रका अनुसार लिभिङ टुगेदरमा बस्नुभन्दा पहिले पुरुषले विवाह गर्ने प्रलोभन देखाउँछन् । लामो समय सँगै बस्दा महिलाका आफन्तलाई समेत सम्बन्धबारे जानकारी हुन्छ । तर, पछि पुरुषले बिहे गर्न अस्वीकार गर्दा महिला सामाजिक, मानसिक रूपमा पीडित हुने गरेका छन् ।