close

बिस्का जात्रा: भैरवनाथको रथ भोलि दिउँसो २ बजेबाट तानिदै, कुन दिन कहाँ पुग्दैछ?

बिस्का जात्रा: भैरवनाथको रथ भोलि दिउँसो २ बजेबाट तानिदै, कुन दिन कहाँ पुग्दैछ?

Trulli
ADVERTISEMENT

भक्तपुर– आउँदो शनिबारदेखि सुरु हुने भक्तपुरको बिस्का जात्राको भैरवनाथको रथ दिउँसो २ बजे तानिने भएको छ । भक्तपुर नगरपालिकाले व्यवस्थित र शान्तिपूर्ण तरिकाले बिस्का जात्रा सम्पन्न गर्न बोलाएको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो ।

 

नगर प्रमुख सुनील प्रजापतिका अनुसार टौमढीबाट पूर्वमा बढीमा बुलुबुलु हिटी (सुकुलढोका) र पश्चिममा बढीमा नासमनासम्म मात्र रथ लैजान पाइनेछ । 

 

रथमा जुुसी बजु, कर्माचार्य, तलेजुको मूल पुजारी, गुठी नाइके, भैरव नाइके, कर्मी नाइके, चौगुठीलगायत तोकिएका आवश्यकबाहेक अन्य व्यक्तिलाई अनधिकृत रूपमा नचढ्न अनुरोध गरिएको प्रजापतिले जानकारी दिए । 

 

नगरले जात्रा अवधिभर भक्तपुरका विभिन्न क्षेत्रमा आकस्मिक स्वास्थ्योपचारका लागि स्वास्थ्य शिविर व्यवस्थापन गर्नेछ । शिविर व्यवस्थापनका लागि नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंह, विभिन्न अस्पताल र नेपाल रेडक्रस सोसाइटी भक्तपुरलाई जिम्मा दिने निर्णय बैठक गरेको छ । 

 

यो वर्ष २८ चैतमा द्यो क्वबिज्याइगु जात्रासँगै पशाःचर्‍हे पनि परेको अवस्थामा उक्त दिन भैरवनाथ मन्दिरभित्र पूजाआजा मात्र गर्ने एवं मन्दिर अगाडिको भैरवनाथ र वीर बेताल रहेको स्थानमा बलि दिइनेछ । 

 

बैठकले गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख आनन्दप्रसाद कर्माचार्यबाट प्रस्तुत २८ चैत २०७७ देखि ५ वैशाख २०७८ सम्मको जात्राको कार्यसूची पनि पारित गरेको छ । 

 

बैठकमा नगरपालिकाका जनप्रतिनिधि, गुठी संस्थान प्रमुख, सुरक्षा निकायका प्रतिनिधि, विद्युत् प्राधिकरण, नेपाल टेलिकम, केयुकेएल भक्तपुरलगायत कार्यालयका प्रमुख, जात्रासँग सम्बन्धित गुठी नाइके, भैल नाइके, जुसी बजुको उपस्थिति थियो । योसँगै ८ दिन ९ रातसम्म बिस्का जात्राको समय तालिकासमेत जारी गरिएको छ । 

 

यस्तो छ तालिका 


२७ चैतमा बाजा, सुकुन्दा पूजा सामान लगेर नगरपालिकाको सल्लाघारीबाट खड्ग गुठी संस्थान भक्तपुर शाखा कार्यालयमा भित्र्याउने ।

 

२८ चैतमा बिहान ५ बजे भैरवनाथको महास्नान पूजा र ५ः३० बजे बालकृष्ण कर्माचार्यबाट नित्य पूजा सम्पन्न गर्ने ।


बिहान ६ बजेदेखि ८ बजेसम्ममा स्थानीय टोलबासीले पूजा सम्पन्न गर्ने ।

 

बिहान ८ देखि ९ बजेसम्म नौ बाजा भजनका गुठीयार ज्ञानेन्द्रनाथ कायस्थसमेतको टोलीबाट पूजा सम्पन्न गर्ने ।

 

बिहान ९ बजेदेखि ९ः३० बजेसम्म भैरवनाथ र बेताल देवतामा जगतबहादुर मानन्धरसमेतको टोलीबाट पूजा सम्पन्न गर्ने ।

 

बिहान ९ः३० देखि १० बजेसम्म गुठी संस्थान कार्यालय र सिकर्मी नाइकेसमेत भएर पूजा सम्पन्न गर्ने ।

 

बिहान १० बजे बेताल झिक्ने, जगतबहादुर मानन्धर र गंगालाल कुश्मासमेतबाट पूजा सम्पन्न गर्ने ।

 

१० देखि ११ बजेसम्म बेताल सफा गर्ने र रथमा राखी सिंगार्ने ।

 

दिनको ११ देखि १२ बजेसम्म भैरवनाथको मूल नाइके लक्ष्मीभक्त घैमसूसमेतले श्रीको पूजा सुरु गर्ने ।

 

दिनको १२ बजे गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुखले तलेजु पुजारी प्रगेश राजोपाध्यायलाई खड्ग बुझाउने ।

 

दिनको १ बजेसम्ममा पुजारी प्रगेश राजोपाध्यायसमेत २ जना र हपः दिने चौगुठीहरू २ जना तलेजुमा उपस्थित हुने तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी र गुठी कार्यालयले बाजा बन्दोबस्त गरी टौमढीमा आउने ।

 

दिनको १२–१ बजे भैरव नाइके लक्ष्मीभक्त घेमोसुसमेत गुठीयारले गुह्य पूजा सिध्याएर देवता रथमा राख्ने ।

 

दिनको १ देखि १ः३० बजे भद्रकालीको रथलाई घट्खामा पठाई रथमा विराजमान गर्ने गरी भद्रकालीको रथमा पूजा सम्पन्न गर्ने ।

 

दिनको १ः३० बजेदेखि २ बजेसम्म भद्रकालीको रथलाई टौमढी पुवहालको अगाडि ल्याउने ।

 

दिनको २ः०० बजेदेखि भैरवनाथको रथ तान्न सुरु गर्ने गरी दिनको ५ः३० बजेसम्म भैरवनाथको रथ गःहिटीमा खः थाते लाकेगु (रथ ठाउँमा राख्ने) ।

३० चैत

भेलुखेलमा बिहान १०ः०० बजेसम्म लिंगो उठाउने, कैँचीमा डोरी बाँध्ने कार्य दाफा भजनतर्पmबाट नारायण चवाल र कृष्णभक्त चवालसमेतबाट सम्पन्न गराउने ।

 

३१ चैत 

बिहान १०ः०० बजे श्री भैरवनाथको रथ गाःहिटीबाट भेलुखेल ल्याउने ।

 

भद्रकालीको नाइकेबाट भद्रकालीको पूजा सम्पन्न गर्ने ।

 

बिहान १०ः०० बजेभित्र भद्रकालीमा राँगो बलि दिएपछि बाजागाजासहित भद्रकालीको पाटीमा राँगाको टाउको राख्ने ।

 

राँगोको टाउको राखिसकेपछि समयबजी खाएपछि लिंगो प्वालमा राख्न लिंगो मिलाउने काम दिलबहादुर मातांगीले गर्ने ।

 

बिहान १०ः०० बजे गुठी संस्थान शाखा कार्यालयबाट स्याउला काटी लिंगोमा टाउको बाँध्न भेलुखेलमा पुर्‍याउने ।

 

गुठी संस्थान शाखा कार्यालयबाट डोरी र कपडा बिहान ८–१२ बजेसम्म भेलुखेलमा पुर्‍याइदिने ।

 

दिउँसो १२–२ बजे सम्म लिंगोमा डोरी बाँध्ने कार्य नारायण चवाल, कृष्णभक्तलगायतबाट सम्पन्न गर्ने ।

 

प्रहरी बैन्ड बाजासहित २ः०० बजे भेलुखेलमा उपस्थित हुने ।

 

दिउँसो २–३ बजेसम्म डोरो बाँध्ने काम भएपछि गाःहिटीबाट भैरवनाथको रथ र श्री भद्रकालीको रथ भेलुखेलमा पुर्‍याउने ।

 

दिनको ५ः०० बजेभित्र लिंगो उभ्याउने कार्य सम्पन्न गर्ने ।

 

१ वैशाख २०७८ 

 

बिहानै ६ः०० बजे नगरबासीबाट ११ः०० बजेसम्म भैरवनाथको पूजा सम्पन्न गराउने ।

 

बिहान ११–१२ बजेसम्म श्री इन्द्रायणीको पूजाजात्रा सम्पन्न गर्ने ।

 

दिनको १२–४ बजेसम्म गुठी संस्थान कार्यालयबाट श्री इन्द्रायणीबाट बत्ती बाली दुईमाजु चोकमा खड्ग पुजारीलाई बुझाई मूल चोक पुजारीले कुसुलेलाई हासापा (नाङ्लो) बुझाएर सुनको ढोका अगाडि श्री इन्द्रायणीको पूजा गरी श्रीको प्रसाद लिई भेलुखेल प्रस्थान गर्ने र त्यहाँको आवश्यक पूजा गरी ५ः०० बजेभित्र लिंगो ढाल्ने ।

 

भैरवनाथको रथ गःहिटीमा ल्याउने, त्यसपछि भद्रकालीको रथ ल्याई गःहिटीमा जुधाउने ।

 

५ वैशाख

 

दिनको १२ः०० बजेसम्म गुठी संस्थान कार्यालयबाट भैरव, भैरवीको पूजा सम्पन्न गर्ने ।

 

दिनको १ः०० बजेसम्ममा रथमा डोरी बाँध्न लगाउने ।

 

दिनको २ः०० बजे बाजागाजासहित खड्ग तलेजु पुजारीलाई बुझाउने ।

 

दिनको ४ः०० बजे भैरवनाथ रथमा राखी गःहिटीबाट परिक्रमा गराउने ।

 

दिनको ५ः०० बजेसम्म परिक्रमा सिध्याई खड्ग र श्री भैरवनाथलाई भित्र्याई जात्रा सम्पन्न गर्ने ।