close

बेपत्ता बाबु खोज्दै छोराछोरी !

बेपत्ता बाबु खोज्दै छोराछोरी !

Trulli
ADVERTISEMENT

जुम्ला - कैलाली स्थायी ठेगाना बताउने ४  बालबालिका बाबु खोज्दै जुम्ला पुगेका छन् । पञ्जाबमा नोकरी गर्दै आएका बाबु सन्तोष विक ३ वर्षसम्म बेपत्ता भएपछि १७ वर्षीया मधु विक, १६ वर्षीया गीता विक, ९ वर्षीय नवीन विक र ३ वर्षीय आशीष विक जुम्ला सदरमुकाम खलंगा पुगेका हुन् ।


मधु विक भन्छिन्, ‘हामी सबै भारतको पञ्जाबमा जन्मिएका हौं । नेपालमा घर कैलाली जिल्लामा छ भन्ने सुनेका थियौं । तर, कुन ठाउँ, कुन टोल हो, केही थाहा छैन ।’ सानो भाइ १ महिने हुँदै आमा सपना विकको उपचारका क्रममा अस्पतालमै निधन भएको सपना विकले सुनाइन् । ‘आमाको निधनपछि बाबुले अर्की आमा ल्याएर भागेका हुन् । त्यसपछि हामी चारै भाइबहिनी पञ्जाबमा विचल्लीमा पर्‍यौं ।

 

सानो भाइ आशीष अहिले तीन वर्षको भयो । बाबाले पनि छाडेको पनि तीन वर्ष  नै पुग्यो’, मधुले रुन्चे स्वरमा आफ्ना वेदना पोखिन् । भारतमा मजदुरी गरेरै हुर्काएको १ महिनाको भाइ अहिले ३ वर्ष पुगेको छ ।


मधु भन्छिन्, ‘भारतमा कोरोना फैलिएपछि मजदुरी गर्ने ठाउँ भएन । सबै नेपालीहरु नेपाल फर्केन थालेपछि हामी पनि कैलाली आयौं । कैलालीमा पनि घरजग्गा बाबाले बेचेको थाहा पाएपछि नेपालगन्ज, सुर्खेत हुँदै जुम्ला आएका हौं ।’ उनीहरु बाबु खोज्दै जुम्ला पुगेको पनि अहिले १२ दिन पुग्यो । बेपत्ता बाबु खोज्ने क्रममा भौंतारिँदै जुम्लासम्म आइपुगेको उनको भनाइ छ । 


जुम्ला पुगेको २–४ दिनपछि चन्दननाथ नगरपालिका– ७ महतगाउँस्थित जनता माध्यमिक विद्यालय भवन निर्माणमा मजदुरको खाना पकाउने काम गरेबापतको दिनको ५ सय रुपैयाँले बिहान-बेलुकाको छाक टार्दै आएको मधु सुनाउँछिन् । 

 

बिचल्लीका बालबालिकाको उद्धार 


चन्दननाथ नगरपालिका-६ विजयनगरस्थित बालबालिका बिचल्लीमा परेको थाहा पाएपछि समाजसेवी छिरिङ ल्यामु तामाङले जिल्ला प्रशासन कार्यालय जुम्लामा खबर गरिन् । 


जिल्ला प्रशासनले जिल्ला प्रहरीमा जानकारी गराएपछि बालबालिकाको उद्धार भएको हो । प्रहरी नायव उपरीक्षक माधव काफ्लेका अनुसार बालबालिका अलपत्र परेको जानकारी प्राप्त भएपछि शनिबार नै उद्धार गरिएको छ । 


बेपत्ता बाबु खोज्दै जुम्ला आइपुगेका बालबालिकाबारे विस्तृत अध्ययन भइरहेको उनले जानकारी दिए । उनीहरुलाई प्रहरीको उद्धारपछि अल्पकालीन महिला तथा बालबालिका सेवा केन्द्रमा राखिएको छ । 


‘बालबालिकाले अझै आफ्नो स्थानीय ठेगाना र अभिभावकको नाम बताउन सकेका छैनन्’, काप्mलेले भने, ‘यस विषयमा प्रहरी संयन्त्रमार्फत कैलालीमा पनि खोजी गर्छौं । बालबालिकालाई  मेडिकल परीक्षणसहित सेवा केन्द्रमा राखिएको हो ।’


अल्पकालीन सेवा केन्द्रकी अध्यक्ष भगवती श्रेष्ठका अनुसार अस्थायी रुपमा सेवा केन्द्रमा राखिए पनि २ बालिका १६/१७ वर्षका भएकाले दुव्र्यवहारमा पर्न सक्ने देखिएर सुरक्षित राखिएको हो । उनले भनिन्, ‘यस्ता बालबालिकाको अभिभावक राज्य नै हो । त्यसका लागि प्रशासनसँग कुरा चलाएका छौं ।’