close

छुईगोठमुक्त गर्ने अभियानमा जुट्यो तिला गाउँपालिका

छुईगोठमुक्त गर्ने अभियानमा जुट्यो तिला गाउँपालिका

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लाको तिला गाउँपालिकामा झन्डै २ दशकअघि प्रेम बस्नेतकी श्रीमती सुत्केरी हुँदा स्याउला, सोत्तर बिछ्याएको गाईगोठमा राखिएको थियो । पहिलो सुत्केरी हुँदा होस् वा महिनावारी भएको अवस्थामा होस्, गोठमा बस्ने चलन थियो । कुरीतिका रूपमा समाजमा जकडिएको प्रथा अहिले पनि जीवितै छ ।


त्यतिबेला सुत्केरी श्रीमतीलाई प्रेम बस्नेतले गोठमा राख्नुको विकल्पै थिएन । समाजमा त्यही चलन थियो । ‘त्यो चलनलाई एकैचोटि हटाउन पनि सकिएन । स्याउला, सोत्तर बिछ्याएको गोठमा बच्चाका २ वटा खुट्टा आगोमा जले । अहिले छोरो अपांग छ’, उनले पुरानो कुरा सम्झँदै भने, ‘त्यतिबेला सुत्केरी गोठमा नराखेको भए बच्चा अपांग हुँदैन थियो । अहिले छोराको दुवै चल्दैनन् ।’ 

 

काठमाडौं बसेर आईटी (कम्प्युटर) पढेर बसिरहेको उनले बताए । ‘हरेक वर्ष नक्कली खुट्टा फेर्नुपर्दछ । पढाइ खर्च र नक्कली खुट्टा फेर्नैका लागि वार्षिक ५ लाख रुपैयाँ खर्च हुने गरेको छ’, उनले भने, ‘दुःखजिलो गरी खर्च पठाउने गरेको छु ।’ 

 

कुरीति र कुसंस्कारले समाजमा पारेका असरका केही उदाहरण मात्र हुन् । यस्ता समस्या गाउँघरमा थुप्रै भेटिने गरेका छन् । यिनै कुरीतिका रूपमा जकडिएर रहेको छुई (छाउपडी प्रथा) अन्त्य गर्न जुम्लाको तिला गाउँपालिकाका महिला छुईगोठमुक्त अभियानमा जुटेका छन् ।

 

उनीहरूले पहिलो चरणमा छुईगोठदेखि घरको सुरक्षित कोठामा बस्नुपर्ने अभियान चलाएका हुन् । ‘अहिले पनि छुई हुँदा महिलाले गाईवस्तुसँगै बस्नुपर्ने बाध्यता छ । यसले स्वास्थ्यमा नकारात्मक प्रभाव देखिँदा समस्या हुने गरेको छ’, जुम्ला रारागाउँकी गोइली बुढाले भनिन्, ‘अब स्वास्थ्य अवस्थालाई दाउमा राखेर गोठमा बस्न सक्दैनौँ । घरको एउटा कोठा छुई भएको बेला बस्न तयारी गर्न परिवारलाई भनिराखेका छौँ । अब घरभित्रै बस्छौँ । छुइगोठमुक्त अभियान सफल बनाउन कम्मर कसेर लागिपरेका छौँ ।’ 

 

जुम्लामा छुई हुँदा ३ देखि ७ दिनसम्म बार्ने चलन छ । घरमा बस्दा देउता लाग्ने, चोटपटक लाग्ने, अनिष्ट हुनेजस्ता भ्रम फैलाइन्छ । त्यो भ्रम अहिले पनि छर्न खोजिँदै छ । बुढाले भनिन्, ‘छुई एक नियमित प्रक्रिया हो । फल लाग्न फुलेको फूलजस्तै हो । महिलालाई अपहेलना गर्न रचिएको कुरीति हो ।’

 

तत्कालीन प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले छुई प्रथा उन्मूलनका लागि महाअभियान थालिन् । अभियान नसकिँदै उनको सरुवा भएपछि छुई प्रथा उन्मूलन महाअभियान अलपत्र अवस्थामा छ । 

 

गाउँमा गठन गरिएका अभियान निस्क्रिय भएका छन् । अहिले गाउँमा महिलाले जिम्मेवारी लिन थालेका छन् । गाउँमा समूह गठन गर्ने र हरेक महिनाको १ दिन छुई गोठमुक्त अभियानबारे छलफल हुने गरेको छ । कहिले स्थानीय अगुवासँग भेट्ने, कहिले धामीझाँक्री त कहिले पुरुषसँगको छलफललाई घनिभूत बनाउँदै लगेका छन् ।

 

छुई प्रथा महिलालाई दबाउन गरिएको प्रपञ्च हो । यो कार्य अहिलेको समाज सुहाउँदो छैन’, स्थानीय बाटु बुढाले भनिन्, ‘अब सुरक्षाकै लागि भए पनि छुईगोठ भत्काएर घरमा बस्नुपर्ने बेला आइपुगेको छ ।’ 

 

पहिले उनको गाउँको हरेक गोठमा आगो बलेको देखिन्थ्यो तर अहिले छुईगोठमुक्त अभियानै चलेपछि अधिकांश महिला घरभित्रको एउटा कोठामै बस्न थालेका छन् ।

 

सर्वाेदय नेपाल जुम्लाका सचिव नारायणी चौलागाईं छुईगोठमुक्त अभियानमा महिलाको सक्रियता प्रशंसनीय रहेको बताउँछिन् । उनले भनिन्, ‘छुई प्रथा अभिशाप हो । समाजमा विकृतिका रूपमा जरा गाडेको छ । तर, पछिल्लो समय जरा उखेल्न महिला नै सक्रिय बनेका छन् ।’

 

छुई भएको समय गोठमा बस्दा रोगकिराको संक्रमण हुने खतरा छ । मानिसबाट पनि डराउनुपर्ने अवस्था छ, उनले भनिन्, ‘पहिलो जमर्को भनेको गोठदेखि घरसम्म लैजाने भन्ने हो । त्यसपछि अरू प्रक्रिया क्रमशः सुरु हुँदै जानेछन् ।’

 

अहिले गाउँमा छुईमुक्त गोठ निर्माणका लागि बृहत् बैठक भइरहेका छन् । महिलाहरू विकृति हटाउन लागेका छन् । तिलाको वडा नम्बर १ देखि ९ वडासम्म मास बैठक भइरहेको छ । उपाध्यक्ष बिष्णु बुढा परम्परादेखि चलिआएको छुई प्रथा सबै मिलेर फ्याँक्नुपर्ने बताउँछिन् । उनले भनिन्, ‘पहिलोचोटि गोठदेखि घर ल्याउन चाहन्छौँ । घरमा आइसकेपछि सबै समस्या हल हुनेछन् ।’

 

धामीझाँक्री, सासूससुरा, पुरुष, किशोर-किशोरी सबैसँग छलफल गरिरहेको उनले बताइन् । बस्ती, टोल, वडा हुँदै गाउँपालिका छुईगोठमुक्त बनाउने अभियान सुरु भइसकेको उपाध्यक्ष बुढाले बताइन् । सर्वोदय नेपालसँगको सहकार्यमा तिला गाउँपालिकाले हरेक बस्तीका महिलासँग छुईगोठमुक्त गर्ने सवालमा छलफल चलाइरहेको छ । 

 

यो अभियान जिल्लाको १ नगरपालिकासहित ७ वटै गाउँपालिकामा चलाउन आवश्यक छ । छुईगोठमुक्त अभियान सञ्चालन हुँदा यहाँका संरचना बाधक बनेका छन् । अधिकांश घर २ कोठे मात्र छ । एउटा भान्सा र एउटा सुत्ने कोठा । 

 

अब बन्ने संरचना अनिवार्य ४ कोठे हुनुपर्ने उपाध्यक्ष बुढाको तर्क छ । उनले थपिन्, ‘अहिले छुई हुँदा गोठ बस्न लगाउने बाधक तत्त्वको पहिचान हुँदै छ । आगामी दिनमा संरचना निर्माणदेखि हरेक अवरोधसँग जुध्न सक्ने संरचना निर्माणमा जोड दिनेछौँ ।’

 

यसअघि तिला गाउँपालिकाको ५ नम्बर, ४ नम्बर वडाको रावतवाडा जोगीवाडा छुईगोठमुक्त घोषणा भइसकेका छन् भने अब यो अभियानले गाउँपालिकालाई नै छुईगोठमुक्त गर्ने तयारी छ ।