close

गरिखानेहरूको विलौना: भोकले भन्दा रोगले मर्न दिनुस्

गरिखानेहरूको विलौना: भोकले भन्दा रोगले मर्न दिनुस्

Trulli
ADVERTISEMENT

महोत्तरी- देशलाई दोस्रो चरणको कोरोना संक्रमणले लपेटेपछि त्यसको मारमा गरिखानेहरू पिल्सिएका छन् । उनीहरूलाई रोगभन्दा भोक नै प्यारो लाग्छ । वीरगञ्जका नदिर आलम र धीरज श्रीवास्तवलाई कोरोनाको विषयमा राम्रोसँग थाहा पनि छैन । कोरोनाका कारणले कति संक्रमित छन्, कति मरे भन्ने टाढाको विषय हो ।

 

कोरोना कसरी लाग्छ, कोरोना भनेको के हो भन्नेसम्म पनि यी दुवै जनालाई जानकारीमा छैन । यत्ति मात्र बुझेका छन्, साहूको ऋणले भएभरको ५ धुर जग्गा उनैलाई जिम्मा लगाएको ।

 

श्रीवास्तवले बहिनीको विवाह गर्दा ८ लाख रुपैया गाउँकै साहूसँग ऋण लिएको ४ वर्ष भयो । ऋण लिएबापत भएको ५ धुर जग्गा साहूलाई उनले धितो राखेका छन्  । मासिक सयकडा २ प्रतिशतका दरले १६ हजार रुपैयाँ ब्याज मात्रै तिर्नुपर्छ ।

 

‘दिनभरि कबाडी बटुल्दा ५ सयदेखि १ हजार रुपैयाँसम्म कमाइ हुन्छ । परिश्रम पर्ने हुँदा सातै दिन काम गर्न सकिने अवस्था हुँदैन । सातामा कहिलेकाहीँ २ दिन आराम लिएर काम गर्छौं’, उनले भने ।

 

नदिर र श्रीवास्तवको आफ्नै संसार छ । उनीहरू देशको राजनीति र सामाजिक सञ्जालबाटै बाहिरै छन् । उनीहरू बिहानदेखि बेलुकासम्मै फोहोर टिप्छन् र कबाडी संकलन केन्द्र पुर्‍याउँछन् ।


फोहोर सामान जोगाड गर्दागर्दै श्रीवास्तव र नदिर आलम साथी बनेको १४ वर्ष पुग्यो । नदिर उमेरले अहिले २७ वर्ष भए भने श्रीवास्तव २९ ।

 

घरको आर्थिक स्थिति कमजोर भएपछि १४ वर्षअघि कमाउन बर्दिबास आउँदा नदिर र श्रीवास्तवलाई जिन्दगी स्वतन्त्र लाग्थ्यो । तर, अहिले श्रीवास्तवले ६ जनाको परिवार एक्लै हेर्नुपर्छ भने नदिरले ५ जनाको । पारिवारिक व्यवस्थापन र साहूको ऋण तिर्ने सुरमा उनीहरूको दैनिक गुडिरहेको छ, यतिबेला ।

 

‘काम गरिएन भने कोरोनाले हैन, भोकले हाम्रो परिवारै मर्छ । बरु हामीलाइ कोरोना लागोस् तर परिवार भोकले मरे निको मान्दैनौँ’, उनीहरूको सामूहिक अठोट छ ।

 

गल्ली-गल्लीमा पुगेर दिनभरि फोहोर कबाडी सामान टिप्दा ज्यान डुङडुङी गनाउँछ । फोहोरी थोत्रे भएर हिँड्दा सुकिलामुकिलाहरूले हेपे पनि उनीहरूलाई गरिखान खासै फरक पर्दैन ।


श्रीवास्तव र नदिरलाई अरूको चियोचर्चा गर्ने फुुर्सदै छैन । न त दुःख पर्दा अरुलाई जस्तो सहानुभूति दिने नै कोही छन् । आफ्नै देश पनि नदिर र श्रीवास्तवका लागि प्रदेशजस्तै छ । 

 

‘कहिलेकाहीँ टाउको दुख्दा, ज्वरो आउँदा कहिले श्रीवास्तवले तातो पानी खुवाउँछन्, कहिले मैले खुवाउँछु । औषधी किन्न जाँदा पनि फोहोर भएको देखेर होला औषधी पसलेले परैबाट छैन भन्छन्’, नदिर दुःखी सुनिन्छन् ।

 

साहूसँग लिएको ऋण नदिर र श्रीवास्तवले कहिले चुक्ता गर्छन्, यो कुरा उनीहरू स्वयंलाई पत्तो छैन । तर, भएको जग्गासमेत साहूलाई धितो राखेर लिएको ऋणले उनीहरूलाई कहिले तराईको प्रचण्ड गर्मीले पोल्छ, कहिले सरकारको लकडाउनले काम गर्न नपाइने पो हो कि भन्ने चिन्ताले ।

 

यतिबेला कोरोनाको लपेटाले सहरदेखि गाउँबस्ती जताततै सन्त्रास छ । गाउँ-सहरका मान्छे बिरामी परेका छन्, कतिले ज्यान गुमाइसके । 

 

कोरोना नियन्त्रणका लागि सरकारले अर्बाैँ खर्चिए पनि गरिखानेहरूलाई बेवास्ता गरेको उनीहरूको गुनासो छ । श्रीवास्तव र नदिरलाई कोरोना भ्याक्सिन के हो भन्ने विषयमा समेत थाहा छैन ।

 

उनीहरू भन्छन्, ‘सरकार हाम्रा लागि होइन रहेछ । सुकिलामुकिलाका लागि रहेछ । हाम्रै ठाउँमा पनि वडाबाट राहत बाँडियो तर हामीले पाएनौँ ।’

 

निषेधाज्ञाका कारण श्रीवास्तव र नदिरहरूका कयौँ परिवार भोकभोकै छटपटिने अवस्थामा छन् । साहूको ऋणबाट उन्मुक्ति पाउने र परिवारको दैनिक जोहो जुटाउनमै उनीहरूको दिन बित्ने गरेको छ ।