close

रगत चाहियाे ? दाह्री ग्याङलाई भन्नूस्

रगत चाहियाे ? दाह्री ग्याङलाई भन्नूस्

Trulli
ADVERTISEMENT

अछाम- अछाममा समाज रुपान्तरणका लागि जनचेतनामूलक सामाजिक तथा परोपकारी कार्य गर्ने उद्देश्यले स्थापना भएको दाह्री ग्याङले १ वर्ष कटाएको छ । सामाजिक क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था दाह्री ग्याङ गत वर्ष अछाममा पनि विस्तार भएको थियो ।


समाज परिर्वतनका तन्नेरीलाई समेटेर स्थापना भएको १ वर्षे अवधिमा दाह्री ग्याङ अछामले विभिन्न सामाजिक कार्य गर्दै आएको छ । मुख्यतया रक्तदानलाई बढी जोड दिएको समूहले सरसफाइ कार्यक्रम, असहायलाई सहयोगलगायत परोपकारी काम गर्दै आएको छ । दाह्री ग्याङ अछामले जिल्लामा ब्लड बैंक स्थापना भए पनि रगत अभावलाई पूर्ति गर्ने काममा साथ दिएको छ ।

 

रगत अभावमा अस्पतालको शय्यामा छटपटाइरहेका बिरामीलाई रगत उपलब्ध गराउने काम दाह्री ग्याङ अछामले गर्दै आएको छ । नेपाल रेडक्रस सोसाइटीको जिल्ला शाखाले रगत व्यवस्थापन गर्नुपर्ने भए पनि पहलकदमी नलिँदा रगत अभाव हुने गरेको छ । कहिले सेना, पुलिस र कहिले अन्य सहयोगीलाई गुहारेर बिरामीले रगत माग्नुपर्ने अवस्थालाई दाह्री ग्याङले हटाइदिएको छ ।

 

‘अस्पतालमा कुनै पनि बिरामीलाई रगत चाहिए हामीले सम्झिने भनेकै दाह्री ग्याङ हो’, स्वास्थ्यकर्मी छत्र साउदले भने, सदस्यहरूको छिटो रेस्पोन्सले बिरामीको ज्यान बचाउन मद्दत पुगेको छ ।’

 

दाह्री ग्याङले पहल नगरेको भए रगत अभावमा कतिपयले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना हुने उनको भनाइ छ । रगतका लागि अन्य कुनै पनि संघ-संस्थाले पहल नगर्दा समस्या भएको साउदको बुझाइ छ । 

 

जिल्लाका अस्पतालमा भर्ना भएका बिरामीलाई रगत आवश्यक परे दाह्री ग्याङलाई नै सम्झिने गरिएको छ । ‘कसैलाई रगत आवश्यक परे मलाई तुरुन्तै फोन आउँछ’, दाह्री ग्याङ अछामका संयोजक उमेश कुावरले भने, ‘साथीहरूसँग समन्वय गरेर तत्काल पूर्ति गर्नतर्फ लाग्छु । बयालपाटा र जिल्ला अस्पतालमा बिरामीलाई रगत आवश्यक परे फोन आउँछ र लगत्तै समूह र सामाजिक सञ्जालमा पोस्ट गरेर रगत अभावलाई कम गराएका छौँ ।’  ब्लड बैंकको स्थापना गर्नुपर्ने रेडक्रसले मास्क बाँड्दै हिँडेको उनको आरोप छ । ब्लड बैंक स्थापनाका लागि सबै पक्षले पहलकदमी लिनुपर्ने उनी सुझाउँछन् । 

 

गत वर्ष स्थापनाको केही दिनमै आत्मदाह गरेका सिद्धार्थ आउजीका परिवारलाई आर्थिक सहयोग गरेर अभियान सुरु गरेको दाह्री ग्याङ अछामले त्यसपछिका दिनमा बजार सरसफाइलगायत सामाजिक काम गर्दै आएको छ । ४ वर्षअघि सामाजिक सञ्जालबाट सुरु भएको दाह्री ग्याङ नेपालका ३१ बढी जिल्लामा विस्तार भएको छ ।


आगामी दिनमा नियमित रक्तदानका साथै अछामका पर्यटकीय स्थलको संरक्षण, प्रचार-प्रसार गर्ने, सचेतना प्रदान गर्ने, प्राकृतिक विपद्मा परेकालाई भौतिक, आर्थिक सहयोग गर्दै जाने र समान उद्देश्य बोकेका संस्थासँग सहकार्य गर्ने समूहका संयोजक कुवँरले बताए । दाह्री ग्याङ धनगढीका संयोजक दिनेश बोहराको पहलमा अछाम शाखा विस्तार भएको थियो ।