close

चन्दननाथ र भैरवनाथ मन्दिरको सम्पत्तिमा टाठाबाठाकै रजाइँ : २२ महिनासम्म तिरेनन् घरटहराको भाडा

चन्दननाथ र भैरवनाथ मन्दिरको सम्पत्तिमा टाठाबाठाकै रजाइँ : २२ महिनासम्म तिरेनन् घरटहराको भाडा

Trulli
ADVERTISEMENT

जुम्ला– तीर्थव्रत गरेर पुण्य कमाउने लालसा सबैको हुन्छ । तर, जुम्लास्थित चन्दननाथ र भैरवनाथको मन्दिरमा भने धर्मभन्दा दामपैसोमा आँखा लगाउनेहरूको दिलचस्पी देखिएको छ । जुम्लास्थित चन्दननाथ र भैरवनाथको मन्दिरको सम्पत्तिमा टाठाबाठाले नै हालीमुहाली गर्ने गरेका छन् ।

 

मन्दिरका ५२ वटा घरटहरा छन् । ती सबै संरचना भाडामा लगाइएको छ । मन्दिरको नाममा निर्माण भएका टहराको भाडा वार्षिक रूपमा ४२ लाख रुपैयाँको सम्झौता छ ।

 

गुठी व्यवस्थापन समितिले बनाएको अडिट प्रतिवेदनमा ३२ लाख ५८ हजार ३ सय ३३ रुपैयाँ १२ पैसा भाडा उठेको छ । त्यस्तै, भक्तजनको दानदक्षिणा, विवाह शुल्क गरी ३८ लाख ४३ हजार २ सय २८ रुपैयाँ ३ पैसा रहेको छ ।

 

सो रकम मन्दिरको पूजाआजा र ९ जना कर्मचारीको तलबमा खर्च गरिएको चन्दननाथ भैरवनाथ मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ । मन्दिरको सम्पत्तिमा सम्झौताअनुसार भाडा नदिनेको लिस्टमा नाम परेका व्यक्ति कुनै बाहिरबाट आएर व्यवसाय चलाएका भने
होइनन् । यिनी जुम्ला बजारका टाठाबाठामै पर्छन् ।

 

उर्मिला श्रेष्ठले २२ महिना, सुकवीर बुढाले १६ महिना, प्रभा शाहीले १० महिना, सीता थापाले १९ महिना, भिन्चुले लामाले ७ महिना, सुशील देवकोटाले ९ महिना, लोकदर्शन श्रेष्ठले ६ महिनासम्म घरटहराको भाडा बुझाएका छैनन् ।

 

त्यस्तै, देवेन्द्र उपाध्याय, खडानन्द न्यौपानेले ११ महिनाको भाडा बुझाएका छैनन् । मुबारक सिद्दिकीले ६ महिना, प्रवीन श्रेष्ठले १० महिना र विनोद शेरचनले २० महिनाको भाडा नबुझाएको गुठी व्यवस्था समितिका लेखापाल रत्नप्रसाद आचार्यले बताए ।

 

१५ लाख उठ्न बाँकी

 

मन्दिरको टहाराबाट बाँकी उठ्नुपर्ने रकम १५ लाख ८ हजार २ सय ५३ रुपैयाँ रहेको लेखापाल आचार्यले बताए । ‘हामीले सम्झौता भएको रकम नबुझाउनेलाई पटक–पटक पत्राचार गरे पनि बेवास्ता भइरहेको छ । उनीहरूलाई दबाब दिनकै लागि हुलाकमार्फत पत्र पठाउँदा पनि भाडा बुझाएका छैनन्’, आचार्यले भने ।

 

भाडा नतिर्नेमा बाहिरबाट आएका र बजारका टाठाबाठा नै रहेको उनको भनाइ छ । मन्दिरमा २ वटा पुजारी, एक लेखापाल, एक जना जलरी र ५ जना सहयोगी कर्मचारी छन् । यिनीहरूको तलब न्यूनतम ७ हजारदेखि अधिकतम २७ हजार ५ सय रुपैयाँसम्म तोकिएको छ । त्यसका लागि मासिक तलब १ लाख २५ हजार खर्च हुन्छ ।

 

त्यस्तै, टहरामा भाडा लिएर चिया पसल गर्दै आएका काशिराम भण्डारी भन्छन्, ‘हामीले नियमित भाडा तिर्दै आएका छौँ । हामी साना लगानीका व्यापारीलाई १ महिना भाडा नतिरे जरिमाना काट्ने गरिएको छ । तर, ठूलाबडाले भाडा नतिरेरै पनि वर्षौंसम्म बसेका छन् ।’

 

टहरामा व्यवसाय गर्दै बसेका व्यापारीका अनुसार मन्दिरले भाडाको रकम जम्मा गर्न कुनै बैंकको खाता नम्बर भने दिएको छैन । मन्दिरको नामको रसिदबाटै रकम उठाउने गरिएको छ ।

 

मन्दिरको नाममा रहेको सम्पत्ति हिनामिना हँुदा गुठी व्यवस्थापन समिति भने मुकदर्शक बनेको छ । एक स्थानीय भन्छन्, ‘मन्दिरमा पनि राजनीति छ । गुठी व्यवस्थापन समितिमा पहुँचवालाकै रजाइँ हुने गरेको छ । समितिमा पहु्ँचवालाकै हालीमुहाली चलेपछि मन्दिरलाई मागी खाने भाँडो बनाइएको छ । मन्दिरको नाममा लाखौँ रकम उठ्ने गरे पनि सार्वजनिक सुनुवाइ हुने गरेको पाइँदैन ।’

 

गुठीको जग्गा अतिक्रमण

 

चन्दननाथ गुठीको ठूलो मात्रामा जग्गा व्यक्ति विशेषले अतिक्रमण गरेका छन् । चन्दननाथ र भैरवनाथ मन्दिर परिसरमा विभिन्न व्यवसाय सञ्चालन गर्नुका साथै स्थायी संरचना बनाएका छन् ।

 

चन्दननाथ राजगुठीको १ लाख ४ हजार वर्गमिटर (करिब २ सय ५ रोपनी) जग्गामध्ये हाल मन्दिर रहेको क्षेत्रमा १४ सय ७९ वर्गमिटर र मन्दिर नजिक सेरा खेत ४८ हजार ३ सय वर्गमिटर मात्र रहेको प्रमाण छ । बाँकी करिब १ सय ८ रोपनी व्यक्तिका नाममा पुगेको पाइन्छ ।

 

केही समय भाडामा लिने, पछि अतिक्रमण गर्दै जाने हुँदा गुठीको जग्गा नासिँदै गएको हो । तर, फिर्दा ल्याउन केही पहल भएको देखिँदैन ।खसहरूको पहिचान रहेको जुम्लाको चन्दननाथ गुठीको रैकर जग्गाको पनि हिसाबकिताब छैन ।

 

गुठी व्यवस्थापन समितिका अध्यक्ष पूर्णसिंह कठायतका अनुसार गुठीको नामको लालपुर्जा हेर्दा कुडारीमा १ लाख १९ हजार ४ सय ५२ वर्गमिटर, कनकासुन्दरीमा २६ हजार २ सय ३५ वर्गमिटर, तलिहुममा २ लाख ३१ हजार ३ सय ३१ वर्गमिटर, कार्तिकस्वामिमा ४० हजार २ सय २४ वर्गमिटर, चन्दननाथमा ७० हजार ६ सय ६८ वर्गमिटर, पटमारामा ९० लाख ४ हजार ७ सय ८८ वर्गमिटर, देपालगाँउमा ४८ हजार ५८ सय ६९ वर्गमिटर, गज्याङकोटमा ८६ हजार ७४ वर्गमिटर, महतगाँउमा ८९ हजार ४ सय ७६ मिटर, बड्कीमा ११ लाख ५६ हजार १ सय ८८ वर्गमिटर जग्गा छ ।

 

जुम्ला बजारकै बीचमा रहेको र महँगो भएकाले धेरैको आँखा गुठीकै जग्गामा जाने गरेको छ । धेरैले कम समयका लागि जग्गा भाडामा लिने र धेरै समयसम्म नछाड्ने गरेको पाइएको छ । कसैले स्थायी भौतिक संरचना बनाएका छन् ।

 

कठायतले भने, ‘गुठीको जग्गामा अतिक्रमित भएपछि २०७१ मा कालीबहादुर थापाको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो । समितिले २५ जेठ २०७१ मा गुठी व्यवस्थापन समितिलाई बुझाएको प्रतिवेदनअनुसार गज्र्याङकोट तथा गुठीचौरमा ३ हजार ५ सय ७३ वर्गमिटर जग्गा अतिक्रमण गरेर ५ जनाले घर बनाएका छन् । दलजित बुढा, गंगा बुढा, कालीबहादुर बुढा, हंश बुढा, दीपबहादुर कामी र पूर्ण बुढाले गुठीको जग्गा हो भन्ने थाहा हुँदाहुँदै पनि घर बनाएका छन् ।’

 

त्यस्तै, चन्दननाथ नगरपालिकाको कालेखोली र बजार क्षेत्रमा पनि गुठीको जग्गा अतिक्रमण भएको छ । गुठीकै जग्गामा चन्दननाथ वडा नम्बर ३ का बिर्खबहादुर स्वाँरले घरसम्म जाने बाटो बनाएका छन् ।

 

गुठीकै जग्गामा चन्दननाथ वडा नम्बर ४ डाँडाकोटमा सार्वजनिक सडक बनाइएको छ । चन्दननाथकै प्रवीण श्रेष्ठले बारी र शौचालय, पारस महत, विनोद शेरचन र नवराज गिरीले शौचालय, पदम खत्रीले घर, बारी र शौचालय तथा प्रभा श्रेष्ठले बारी बनाएको प्रतिवेदनमा उल्लेख
छ ।

 

प्रतिवेदनअनुसार जग्गा अतिक्रमण गरेर वसुन्धरा नगरकोटी, तिल सुनार र दत्त सुनारले टहरासमेत बनाएका छन् । यी सबै मापदण्डविपरीतका संरचना भएको समितिको प्रतिवेदनमा उल्लेख छ ।