close

प्राकृतिक सम्पदाको दोहन र जथाभावी सडक कोतरिँदा निम्तियाे जाेखिम

प्राकृतिक सम्पदाको दोहन र जथाभावी सडक कोतरिँदा निम्तियाे जाेखिम

Trulli
ADVERTISEMENT

काठमाडौं- पछिल्लो ३ दिनयता मुलुकभर लगातारको वर्षाका कारण धनजन र पूर्वाधारमा ठूलो क्षति पुगेको छ । मनाङ, सिन्धुपाल्चोकलगायत जिल्लाको जनजीवन प्रभावित भएको छ । वर्षायाम भित्रिएसँगै मनसुनजन्य विपद्को जोखिम क्षेत्र पहिचान गरी प्रतिकार्य योजना बनाएर कार्यान्वयनमा गइसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले जानकारी दिएको छ ।


प्राधिकरणका अनुसार कतिपय जिल्लामा वडास्तरीय रूपमै पहिराको जोखिम पहिचान गरी क्षति न्यूनीकरणका तयारी थालिएको छ । यो वर्ष बढी पानी पर्ने पूर्वानुमानसँगै मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ निर्माण गरिएको र स्थानीय तह, प्रदेश सरकार तथा सम्बद्ध संघ-संस्थासँगको समन्वयमा आवश्यक तयारी थालिसकिएको प्राधिकरणले बताएको छ ।


प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल गत वर्षको अनुभवको आधारमा समीक्षा गर्दै आगामी दिनका पूर्वतयारीका कार्यक्रम अपनाइएको बताउँछन् । बाढी आउने पूर्वसूचना प्रणाली जडान गरिएजस्तै छ पहिरोका लागि पनि सोही प्रक्रियाको संयन्त्र जडान ९ जिल्लामा लागू गर्न लागिएको उनको भनाइ छ । गत वर्ष मनसुनजन्य विपद्बाट ४०० बढी मानिसको मृत्यु भएको थियो । ११०० बढी परिवार प्रत्यक्ष प्रभावित भएका थिए । पहिरो मात्रै ४०० भन्दा बढी खसेको थियो ।


गत वर्ष कतिपय क्षेत्रमा हेलिप्याडको व्यवस्थासमेत नभएको अवस्थामा नेपालका सबै वडामा हेलिप्याड व्यवस्थापनमा समेत जोड दिइएको छ । प्राधिकरणका अनुसार क्षति भएकाको हकमा लामो प्रयासबाट पुनर्निर्माण र पुनस्र्थापनाका कार्यक्रम तत्कालै सुरु गरिँदै छ । तथ्यांक विश्लेषणको आधारमा कसरी पूर्वतयारी गर्न सकिन्छ भनेर अन्तरक्रिया र छलफल चलाएर सुझावसमेत लिइएको प्राधिकरणले जनाएको छ ।


राहत तथा उद्धार सामग्री ठाउँ-ठाउँमा पुर्‍याउन र तयारीमा लाग्न प्रधानमन्त्री केपी ओली र गृहमन्त्री खगराज अधिकारीबाट निर्देशन आएकाले सोहीअनुसार तयारीमा जुटेको पोखरेलले बताए ।  ‘सरकारबाट कुनै पनि काममा ढिला नहोस् भनेर सम्बद्ध निकायलाई निर्देशन गएको छ । सबै विपद्जन्य घटना सम्बोधनका लागि एकीकृत कार्यविधि बनाउने प्रक्रियामा अघि बढेका छौँ’, उनले भने । कुन-कुन जिल्लामा कस्तो प्रभाव पर्न सक्छ भन्ने छुट्याएर सरोकारवालासँगको समन्वयमा प्रतिकार्य योजना तयार पारेको प्राधिकरणका सहसचिव विश्वप्रकाश अर्यालले बताए ।


नेपालमा पहाडी जिल्ला पहिरो र तराईका जिल्ला बाढीबाट बढी प्रभावित छन् । हिमाली क्षेत्र हिउँपहिरो र हिमपातबाट प्रभावित हुन्छ । नेपालमा भिरालो जमिन, कमजोर भौगोलिक अवस्था, यत्रतत्र सडक खन्ने काम, जोखिम क्षेत्रमा बसोबास, अव्यवस्थित सहरीकरण, डढेलो तथा अव्यवस्थित वन, प्लटिङ, प्राकृतिक सम्पदाको दोहन, जलवायु परिवर्तन, बहुप्रकोपले मनसुनजन्य विपद्लाई बढावा दिइरहेको विज्ञहरूले औँल्याएका छन् ।