close

बलात्कारीलाई फाँसीको सजाय माग्दै जनकपुरधाम उपमहानगरमा प्रदर्शन

बलात्कारीलाई फाँसीको सजाय माग्दै जनकपुरधाम उपमहानगरमा प्रदर्शन

Trulli
ADVERTISEMENT

धनुषा - अहिले बलात्कारका घटनाले सबैमा त्राहीमाम सिर्जना गरेको छ । सबैको मनमा प्रश्न छ, ‘किन यसरी बढिरहेको छ बलात्कार ? किन यति राक्षस बन्दै छ आजको मान्छे ?’ रेडियो, टेलिभिजन, अखबार सबैतिर बलात्कारको खबरले रङ्गिएको हुन्छ । 

 

जानकी नगर, धार्मिक आस्थाको केन्द्र जनकपुरधाम उपमहानगरपालिकामा पनि दिनदिनै बलात्कारका घटना बढिरहेका छन् । जघन्य अपराध भनेर कानुनले परिभाषित गरेको बलात्कारको विषयलाई लिएर यहाँ नागरिक दबाब सुरु भएको छ ।

 

बलात्कारीलाई हदैसम्मको सजायको माग गर्दै जनकपुर उममहानगरपालिकाका प्रमुख चोकबाट आज युवा र नागरिक समाजले जुलुस निकालेका छन् । युथ एलाइन्स एगेन्स्ट रेप  (वाईएएआर) नामक संस्थाले देशमा बलात्कारको घटना बढ्दै गइरहेको भए पनि प्रहरी प्रशासनले त्यसविरुद्ध सक्रियता देखाउन नसकेको भन्दै विरोध प्रदर्शन गरिएको हो ।

 

वाईएएआर अभियन्ता गुन्जा रायको संयोजकत्वमा जनकपुरको जनकचोकबाट सुरु भएको विरोध प्रदर्शन रामचोक, भैरवचोक हुँदै जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि पुगी कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै अभियन्ता गुन्जा रायले बलात्कारको घटनामा जाहेरी लिएर प्रहरी कार्यालय पुग्दा दर्ता गर्न आनाकानी गर्नुु चिन्ताको विषय रहेको बताइन् । 

 

उनले भनिन्, ‘एक त प्रहरीले उजुरी दर्ता गर्न मान्दैन, दर्ता गरे पनि पीडकलाई पक्राउ गर्न आनाकानी गर्छन् । किन पक्राउ नगरिएको भन्ने प्रश्न गर्दा प्रहरीले पीडक भारत गइसके, हामीले कसरी पक्राउ गर्ने ? भन्छन्, यसले प्रहरीको दोहोरो चरित्र झल्किन्छ ।’

 

धनुषाधाम– ४ सरसाकी एक किशोरीलाई गाउँकै दुई व्यक्तिले पटकपटक बलात्कार गरे पनि आरोपीलाई प्रहरीले पक्राउ नगरेकामा दुःख व्यक्त गरिन् । सरकार हरेक क्षेत्रमा असफल सावित भइरहेको अवस्थामा शान्ति सुरक्षा कायम गराउन पनि सरकार असफल भइरहेको मधेस अधिकार संघर्ष समितिका संयोजक सरोज मिश्रले आरोप लगाए ।

 

उनले बलात्कारीहरूलाई खुलेआम घुम्न दिनु र प्रहरीले पक्राउ नगर्नुले चेलीबेटीमा भय र त्रासको वातावरण उत्पन्न भएको बताए । 

 

धनुषाको पालिकामा बलात्कारका घटना

 

धनुषा जिल्लाका १८ पालिकामा चालू आर्थिक वर्षको जम्मा अढाई महिना (७५ दिन)मा मात्र जबर्जस्ती करणी (बलात्कारका) १४ घटना भएको तथ्यांकले देखाउँछ । अन्य समयको तुलनामा यसबीच जबर्जस्ती करणीको घटनामा वृद्धि भएको हो । 

 

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उपमहानगरमा दुई, धनुषाधाम नगरपालिकामा दुई, सबैला नगरपालिकामा तीन, गणेशमान चारनाथ नगरपालिकामा एक, मिथिला नगरपालिकामा एक, क्षीरेश्वर नगरपालिकामा दुई र लक्ष्मीनिया गाउँपालिकामा एक गरी १२ वटा जबर्जस्ती करणी मुद्दा दर्ताको तथ्यांक छ । 

 

यसरी नै अपहरणपश्चात जबर्जस्ती करणी गरेका दुईवटा फरक मुद्दासमेत दर्ता भएका छन् । धनुषाकै बटेश्वर गाउापालिकामा एक र गणेशमान चारनाथ नगरपालिकामा एक गरी दुईवटा अपहरणपश्चात जबर्जस्ती करणी भएका छन् । यी घटनामा संलग्न केही पुर्पक्षका लागि थुनामा छन् भन्ने केही प्रहरीको खोजी सूचीमा छन् ।