close

चन्दननाथ, भैरवनाथ गुठी जग्गा अतिक्रमणकारीको नाम सार्वजनिक

चन्दननाथ, भैरवनाथ गुठी जग्गा अतिक्रमणकारीको नाम सार्वजनिक

Trulli
ADVERTISEMENT

जुम्ला– कर्णालीकै प्रसिद्ध चन्दननाथ भैरवनाथ गुठी व्यवस्था समितिले मन्दिरको जग्गा अतिक्रमण गर्नेहरूको नाम सार्वजनिक गरेको छ ।

 

गुठी समितिका उपाध्यक्ष कालीबहादुर थापाको संयोजकत्वमा बनेको उपसमितिले २७ जेठ २०७१ मा गुठी समितिलाई जग्गा अतिक्रमण गरिएकोबारे प्रतिवेदन पेस गरेको थियो ।

 

गुठी समितिको बैठकले चन्दननाथ, भैरवनाथ गुठीको नाममा नापचाँज भएको जग्गामा आफूखुसी अतिक्रमण गरी घरटहरा, शौचालय आदि निर्माण गरेकाले साता दिनभित्र मन्दिरको जग्गा खाली गरिदिन अल्टिमेटम दिएको छ ।

 

तोकिएको समयभित्र घरजग्गा खाली नगरे कानुनबमोजिम अघि बढ्ने चेतावनी दिइएको छ । समितिले मन्दिरको जग्गा अतिक्रमण गर्ने व्यक्तिको नामसमेत सार्वजनिक गरेको छ । पटक–पटक समितिले ताकेता लगाउँदा अटेर गरेकाले अन्तिम पटक आग्रह गरिएको गुठी समिति उपाध्यक्ष रत्नचन्द्र उपाध्यायले जानकारी दिए ।

 

जग्गा अतिक्रमण गर्नेहरूमा चन्दननाथ नगरपालिकाको कार्यालय जुम्ला, सोही नगरपालिका वडा नम्बर ५ का तिला सुनार, दत्त सुनार, दतु सुनार, वसुन्धारा श्रेष्ठ, रुपा भण्डारी, लाटी सुनार, राजु सुनार र चक्रबहादुर महत रहेका छन् ।

 

त्यसैगरी अम्बिका शाही, पारसमणि महत, वीर्षबहादुर स्वाँर, पदमबहादुर खत्री, नवराज गिरी, प्रभा शाही, गंगा भण्डारी, पोष्टबहादुर भण्डारी, जनक खाँण, सूर्य दमाई, सुन्दरी दमाई, बर्म गिरी र मुनिराम महतारा रहेका छन् । 

 

गुठीको जग्गा अतिक्रमण गरी अधिकांश स्थानीयले टहरा निर्माणदेखि शौचालय, घरबारी, घर निर्माण गरेका छन् । गुठीको जग्गा अतिक्रमण गरी चन्दननाथ नगरपालिकाले सार्वजनिक शौचालय निर्माण गरेको छ ।