close

बजेट विनियोजन नहुँदा खलढुंगाकाे जोखिम बस्ती स्थानान्तरण प्रभावित

बजेट विनियोजन नहुँदा खलढुंगाकाे जोखिम बस्ती स्थानान्तरण प्रभावित

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लाको हिमा गाउँपालिका वडा नम्बर ६ खलढुंगामा पहिरोको जोखिमका कारण बस्ती स्थानान्तरण गर्न गाउँपालिका कार्यपालिकाले आर्थिक वर्ष २०७६/७७ मा निर्णय गरे पनि बजेट विनियोजन नहुँदा काम अगाडि बढ्न सकेको छैन ।

 

उक्त गाउँमा बाढीपहिरोको जोखिम अध्ययन गरी बस्ती नै स्थानान्तरण गर्न गाउँ कार्यपालिकाको निर्णय र आवश्यक बजेटसहित सघन सहरी विकास तथा भवन निर्माण कार्यालय जुम्लामा निवेदन दिइएको छ ।


हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीका अनुसार १ वर्षअघि जोखिम बस्ती सार्ने निर्णय भएको हो । गाउँ कार्यपालिकाले निर्णय गरेर बस्ती स्थानान्तरण गर्न सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लालाई परिपत्र गरेको उनले बताए ।

 

आर्थिक वर्ष २०७६/७७ मा जोखिम बस्ती खलढुंगामा स्थानान्तरणका लागि दिइएको निवेदन आर्थिक वर्ष २०७७/७८ सम्म सुनुवाइ नभएको अध्यक्ष शाहीले जानकारी दिए । उनले भने, ‘आगामी आर्थिक २०७८÷७९ को पनि बजेट विनियोजन भयो । तर, यो बस्ती स्थानान्तरणका लागि बजेट विनियोजन भएन ।’


असार पहिलो साता लगातार परेको वर्षाले खलढुंगा र दलित बस्तीमा पहिरोको जोखिम बढेपछि १६ घरधुरीका १ सय १७ जना घरपरिवार विस्थापित भएका छन् । शाहीले भने, ‘बस्तीको चारैतिर पहिरो जाँदा गाउँ नै जोखिममा परेपछि घरपरिवार विस्थापित भए । लामो समयसम्म वर्षा हुँदा गाउँ नै जोखिममा पर्‍यो ।’


सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय जुम्लाका सब-इन्जिनियर चन्द्र खड्काका अनुसार उक्त जोखिम बस्ती स्थानान्तरण गर्न कार्यक्रम बनाएर केन्द्रमा पठाइ पनि चालू वर्षमा स्वीकृत भएन । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट विनियोजन भए पनि उक्त कार्यक्रम बजेटमा परेको छैन । यस विषयमा सबै क्षेत्र तथा निकायबाट पहल हुनुपर्ने उनले बताए ।

 

गाउँपालिकाले बस्ती स्थानान्तरण गर्न १२ करोड रुपैयाँ बजेट आयोजना स्टिमेट तथा कार्यक्रम बनाएर पठाएको छ । एउटा घरको ५ लाख रुपैयाँका दरले बजेट बनाएको उनले जानकारी दिए । बस्ती स्थानान्तरणसहित विद्यालय, पानी सडक, सबै आवश्यक पूर्वाधारको कार्यक्रम बनाइएको छ ।