close

युवालाई परामर्श दिँदै चाँगुनारायण

युवालाई परामर्श दिँदै चाँगुनारायण

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिकाले युवालाई लक्षित गरी युवा परामर्श कार्यक्रम सञ्चालन गरेको छ । शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित दुई दिने कार्यक्रम वडा नम्बर ७ स्थित तपा दम्फोको हलमा सम्पन्न भएको हो । 

 

कार्यक्रममा नगरभित्रका माध्यमिक तहमा अध्ययनरत विद्यार्थीलाई सहभागी गराइएको थियो । पालिकाका अनुसार नगरभित्रका युवालाई सक्षम र आत्मनिर्भर बनाउन उक्त कार्यक्रम तय गरिएको हो । 

 

शिक्षा शाखा प्रमुख वीरबहादुर खड्काले समृद्ध नगरपालिका निर्माणका लागि युुवाको विशेष भूमिका हुने बताए । सोहीअनुरूप नगरका युवाभित्रको प्रतिभा प्रस्फुटन र नेतृत्वको तरंग उत्पन्न गर्न कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।

 

आफूमा सीप तथा क्षमता भए पनि अवसर अभावले बाहिर ल्याउन नसकेको अवस्थामा पालिकाले युवालाई मार्ग देखाउने र सोहीअनुरूप तिनले आफ्नो प्रतिभा पहिचान गर्ने विश्वास खड्काले व्यक्त गरे । 

 

नगरप्रमुख सोमप्रसाद मिश्रले पालिकाले युवासँगै समाजका सबै समुदायलाई लक्षित गरी कार्यक्रम ल्याएको जानकारी दिए । यसले पालिकाभित्र सबै पक्षको समान रूपमा विकास हुने विश्वास उनले व्यक्त गरे । 

 

दुई दिने कार्यक्रममा नेतृत्वबारे जानकारी, कसरी नेतृत्व गर्ने, दिगो विकास र त्यसको आवश्यकताबारे जानकारी लिइएको सहभागीले बताए ।

 

युवाभित्रको द्विविधा तथा समस्या समाधान गर्ने उपाय कार्यक्रममार्फत पाएको सहभागी सविन परियारले बताए । कार्यक्रममा नगरभित्रका २० जना युवाको सहभागिता थियो ।