close

विविध कार्यक्रम गरी स्थानीय तहमा मनाइयो बाल दिवस

विविध कार्यक्रम गरी स्थानीय तहमा मनाइयो बाल दिवस

Trulli
ADVERTISEMENT

चाँगुनारायणमा कविता प्रतियोगिता 


भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नम्बर ८ सुडालको आयोजनामा ५७औँ बाल दिवस अवसरमा कविता प्रतियोगिता सम्पन्न भएको छ ।
बालमैत्री स्थानीय शासन र बाल अधिकार शीर्षकमा भएको प्रतियोगितामा सहभागीले कविता वाचन गरेका थिए । सामान्य अवस्था वा कोभिड महामारी ः बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी नारा शीर्षकमा कविता प्रतियोगिता भएको आयोजकले बताए ।

 

कविता प्रतियोगितामा क्रमशः प्रथम संरक्षा पुरी, द्वितीय आकृति दुलाल, तृतीय सुप्रिया तिमिल्सिना र सान्त्वना जेनिसा अधिकारी भए । विजयी सबैलाई पुरस्कृत गरिएको थियो ।  वडाध्यक्ष परासर सापकोटाले बालबालिकाले कवितामार्फत पीडा व्यक्त गरेको जानकारी गराए । उनका अनुसार बालबालिकाको उज्ज्वल भविष्यका लागि पालिकाले बालमैत्री स्थानीय शासनको रूपमा घोषणा गर्न लागेको र त्यसका लागि आवश्यक तयारी भइसकेको छ ।  उनले अभियानका लागि वडास्तरीय एवं विद्यालयस्तरीय बाल समूह र बाल सञ्जाल गठन गर्दै आएको उनले बताए ।

 

वडा नम्बर ८ मा हालसम्म २१ वटा टोलस्तरीय बाल सञ्जाल गठन भएको र बाँकी टोलमा पनि चाँडै गठन गरिनेछ । नगर उपप्रमुख बिना बाँस्तोलाले बालबालिका हकहितका लागि पालिकाको दायित्व रहेको र सोहीअनुसार काम भइरहेको जानकारी दिइन् । बालमैत्री स्थानीय शासनका लागि पालिकाले हाल ५१ वटा सूचक निर्माण गर्दै आएको उनले बताइन् । पालिकाले भौतिक विकास मात्र नभई मानवीय विकासका लागि ध्यान दिँदै आएको उनको भनाइ छ । 
पालिकाभित्रका सबै बालबालिका विद्यालयको पहुँचमा पुगिसकेको उनको दाबी छ ।  नगरपालिकाका ९ वटै वडाले विभिन्न कार्यक्रम आयोजना गरी बाल दिवस मनाएको शिक्षा शाखा अधिकृत रञ्जना सापकोटाले जानकारी दिइन् । 

 

पालिकाअनुसार बाल दिवस

 

भक्तपुरका चार वटै स्थानीय तहले विभिन्न कार्यक्रममार्फत बाल दिवस मनाएका छन् । सूर्यविनायक नगरपालिकाले नगरस्तरीय चित्रकला प्रतियोगिता, निबन्ध प्रतियोगिता गरेको छ ।  शिक्षा शाखाका उपनिर्देशक सरस्वती कोइरालाका अनुसार नगरभित्रका ६० वटा निजी र ३४ सामुदायिक विद्यालय गरी ९४ वटा विद्यालयमा प्रतियोगिता सञ्चालन गरिएको हो । नगरभित्रमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तीनै तहमा प्रतियोगिता र विजयीलाई पुरस्कार वितरण गरिएको थियो । भक्तपुर नगरपालिका र मध्यपुर थिमि नगरपालिकाले पनि विद्यार्थीबीच प्रतियोगिता आयोजना गरी दिवस मनाए ।

 

बाँकेमा बालश्रमिकलाई खाद्यान्न र शैक्षिक सामग्री वितरण

 

राष्ट्रिय बाल दिवस अवसरमा बाँके युनेस्को क्लबले नेपालगञ्ज र डुडुवाका बालश्रमिकलाई राहतस्वरूप मंगलबार खाद्यान्न र शैक्षिक सामाग्री वितरण गरेको छ ।
विश्व शिक्षाको सहयोग र नेपालगञ्ज उपमहानगरको समन्वयमा क्लबले सञ्चालन गरेको सक्रिय परियोजनाअन्तर्गत घटना व्यवस्थापन गरिएका अतिविपन्न तथा जोखिममा रहेका नेपालगञ्ज र डुडुवाका ९ जना बालश्रमिकलाई खाद्यान्न र शैक्षिक सामाग्री वितरण गरेको हो ।

 

आर्थिक अभावले नेपालगञ्ज उपमहानगर र डुडुवा गाउँपालिकामा रहेका इँटाभट्टामा काम गर्ने बालश्रमिकलाई जीविकोपार्जन र शिक्षाका लागि सहज होस् भन्ने उद्देश्यले खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले जानकारी दिए ।

 

कार्यक्रममा क्लबका अध्यक्ष राजेन्द्र चौधरी, कार्यसमिति सदस्य फिरदौस जहाँ, कार्यकारी निर्देशक रवि तुलाधरलगायतले बालश्रमिकलाई खाद्यान्न र शैक्षिक सामाग्री वितरण गरे । सो अवसरमा क्लबका अध्यक्ष राजेन्द्र चौधरीले राहत बालश्रम अन्त्य गर्न वितरण गरिएको बताए । उनले आफ्ना बालबालिकालाई बालश्रममा नलगाउन अभिभावकसँग आग्रह गरे ।  बालबालिकाको पढ्ने उमेरमा उनीहरूलाई विद्यालय पठाउनुपर्नेमा जोड दिँदै उनले घरको आर्थिक जोहो अभिभावकले गर्नुपर्ने बताए ।

 

परियोजनामार्फत नेपालगञ्ज र आसपासका इँटाभट्टामा काम गरिरहेका बालबालिकालाई बालश्रमबाट मुक्त गरेर तिनलाई विद्यालय पठाउने वातावरण बनाउने उद्देश्य राखिएको छ ।

 

बाग्लुङको बडिगाडमा वक्तृत्वकला 


५७औँ राष्ट्रिय बाल दिवस अवसरमा बडिगाड गाउँ कार्यपालिकाको आयोजना र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको संयोजनमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

 

बडिगाड गाउँपालिकाभित्रका विद्यालयबाट २० जना विद्यार्थी सहभागी कार्यक्रममा कोरोना महामारी नियन्त्रणमा बालबालिकाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो ।

 

प्रतियोगितामा भीमगिठे मावि भीमगिठेका सिर्जना केसी प्रथम, त्रिभुवन नमुना मावि खर्वाङका तेजश्वी भण्डारी द्वितीय, खड्कदेवी मावि तुन्डाँडाका सागर वन तृतीय तथा खार मावि खारका करुणा घिमिरेले सान्त्वना स्थान प्राप्त गरे ।


कार्यक्रममा बडिगाड पालिका अध्यक्ष मेयरसिंह पाइजाले बालबालिका अधिकार स्थापित गर्न सरोकारवाला सबैको ध्यान जानुपर्ने बताए । उक्त अवसरमा प्रमुख प्रशासकीय अधिकृत बालाकृष्ण सुवेदीलगायत विषयगत शाखाका प्रमुख, विभिन्न विद्यालयका प्रधानाध्यापक सहभागी थिए । कार्यक्रम बडिगाड गाउँपालिका उपाध्यक्ष अम्मरबहादुर श्रीसको अध्यक्षतामा सम्पन्न भएको हो ।

 

भक्तपुरबाट विपना मुसिख्वाल, बाँकेबाट लक्ष्मी तिमिल्सेना, बाग्लुङको बडीगाडबाट कमल पौडेल