close

नवरात्रको नवौँ दिन, आज सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै 

नवरात्रको नवौँ दिन, आज सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै 

Trulli
ADVERTISEMENT

काठमाडौं– नवरात्रको नवौँ दिन आज दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विनशुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । 

 

नवरात्रको पहिलो दिन असोज २१ गते बिहीबार दसैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो । 

 

दोस्रो दिन पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो भने तेस्रो दिन चन्द्रघन्टा देवीको निष्ठाका साथ पूजाआराधना गरियो । चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिएको थियो भने पाँचौँ दिन स्कन्दमाताको पूजाआराधना गरियो ।

 

छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजाआराधना गरिएको थियो । सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजाआराधना गरियो । दुर्गापक्षको आठौँ दिन महागौरी देवीको विशेष पूजाआराधना गरियो । 

 

दुर्गापक्षको नवौँ दिन वा नवरात्रको अन्तिम दिन आज सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ ।

 

नवरात्र अवसरमा देवीको आराधना गरी पूजा गरे शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विनशुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । 

 

सिद्धिदात्री देवीको स्वरुप

मुमुक्षुहरूलाई मोक्ष प्रदान गर्ने हुनाले देवीलाई सिद्धिदात्री भनिन्छ । सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरद्वारा सेवित भएकाले यिनलाई सिद्धिदायिनी पनि भनिन्छ । यिनी नवदुर्गा गणकी अन्तिम अर्थात् नवौँ देवी मानिएकी छिन् । सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरे मनकामना पूरा हुने धार्मिक विश्वास छ । 

 

दुर्गा देवीका नौ नाम स्वयं ब्रह्माजीले मार्कण्डेय ऋषिलाई बताउनुभएको विभिन्न पुराणमा उल्लेख छ । यी नौ नाम स्मरण मात्र गर्नाले जुनसुकै कष्ट वा संकटबाट पनि मानिसले सजिलैसँग छुटकारा पाउने विश्वास गरिन्छ । हिन्दु धर्मावलम्बीले यो दिन विभिन्न  शक्तिपीठ एवंं घरघरमा बलिसहित पूजाआराधना गरी विशेष रूपमा मनाउँछन् ।