close

भक्तपुरमा रक्सी खुवाएर राँगो दौडाउने जात्रा 

भक्तपुरमा रक्सी खुवाएर राँगो दौडाउने जात्रा 

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुरमा बिहीबार खःमेय ब्वाकेगु (राँगो दौडाउने) जात्रा सम्पन्न भएको छ । दसैँको नवौँ दिन नवदुर्गा भवानीको मन्दिरमा रहेको खःमेयलाई रक्सी खुवाएर दौडाउने गरिन्छ । 

 

नवदुर्गा देवगृहमा राखिएका खःमेयलाई तान्त्रिक विधिअनुरूप पूजा गरी नवदुर्गा द्योःछे (देवगृह) बाट बाहिर निकाली दौडाएर ब्रह्मायणी पीठसम्म पु-याइन्छ ।नवदुर्गा भवानीलाई चढाइने खःमेयको टाउकोमा २ दुई चक्करसहित शरीरमा सात वटा चक्र भएको, निख्खर कालो, पुच्छर घुँडाभन्दा तलसम्म आएको, सिङ अगाडि फर्केको, कानमा कुनै खोट नभएको, शरीरभरि कुनै घाउचोट नलागेको, कम्तीमा पनि एक सय धार्नी तौल भएको मोटो चाहिन्छ ।

 

खःमेयलाई महिषासुर दैत्यको प्रतीकका रूपमा मानी खःमेय जात्रा मनाइने परम्परा छ । महिषासुरको प्रतीक मानिएको खःमेयलाई विजयादशमीको महत्त्वपूर्ण जात्राका रूपमा लिने गरिन्छ ।

 

संस्कृतविद् ओम धौभडेलका अनुसार यहाँ खःमेयलाई बलि पूजा गरी जात्रा मनाउने गरिन्छ । महानवमीको दिन त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानीका रूपमा पूर्ण हुने हुँदा त्यस रूपमा महिषासुर वध गर्ने प्रचलित धार्मिक लोक मान्यताअनुरूप सो जात्रा मनाइएको हो ।

 

खःमेयको मासुको सुकुटी बनाई धुलो पारेर घ्यूमा मुछी लक्ष्मीपूजाको दिनमा धुप बाले लक्ष्मी कृपा मिल्नुका साथै घरको नकारात्मक शक्ति नाश हुने र जनविश्वास छ । अरू समय राती हुने यो जात्रा यस वर्ष दिउँसो सम्पन्न भएको छ । जात्रालाई सभ्य र भव्य बनाउन जात्रा दिउँसै भएको भक्तपुर नगरपालिकाले जनाएको छ ।