close

हलेसीकाे नयाँ अभियान, 'आमालाई बाख्रा तथा सुँगुर पेवा कार्यक्रम'

हलेसीकाे नयाँ अभियान, 'आमालाई बाख्रा तथा सुँगुर पेवा कार्यक्रम'

Trulli
ADVERTISEMENT

खोटाङ - खोटाङको हलेसी तुवाचुङ नगरपालिका- ६ मंगलटारमा महिलाको आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले ‘बाख्रा तथा सुँगुर पेवा कार्यक्रम’ सुरु गरिएको छ । महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन वडा कार्यालयले यस्तो कार्यक्रम सुरु गरेको हो । 

 

वडाका ‘एक आमालाई एक बाख्रा वा सुँगुर’ उपलब्ध गराउने लक्ष्यसहित वडा कार्यालयले आर्थिक वर्ष ०७६/७७ मा १ लाख ५० हजार विनियोजन गरेको थियो । विनियोजित बजेटबाट पहिलो चरणमा वडाका २७ आमालाई बाख्रा र सुँगुर वितरण गरिएको वडाध्यक्ष रमेश राउतले बताए ।


‘विपन्न, एकल महिला र दलित केन्द्रित कार्यक्रमअन्तर्गत २३ महिलालाई बाख्रा र ४ महिलालाई सुँगुरका पाठा वितरण गरिएको छ । कार्यक्रममा क्रमशः वडाका हरेक घरलाई समेट्दै लैजाने वडा तयारी छ’, राउतले भने । चालू आर्थिक वर्षमा कार्यक्रमका लागि २ लाख बजेट विनियोजन गरिएको वडाध्यक्ष राउतले बताए । 

 

नगरपालिकाको ‘एक वडा एक महिला कृषि सहकारी’ स्थापना गर्ने अभियान अन्तर्गत मंगलटारमा स्थापना गरिएको महिला कृषि सहकारीसँग जोड्ने गरी महिलालाई इच्छाअनुशार बाख्रा वा सुँगुर वितरण सुरु गरिएको हो ।

 

‘विपन्न, एकल महिला र दलितलाई आर्थिक रुपमा आत्मनिर्भर बन्न उत्प्रेरित गर्ने गरी बाख्रा तथा सुँगुर पेवा कार्यक्रम सुरु गरिएको हो,’ वडाध्यक्ष राउतले भने, ‘बाख्रा र सुँगुरबाट आएको आम्दानीलाई सहकारीमार्फत कारोबार गर्ने वातावरण बनाउने वडा कार्यालयको लक्ष्य हो । यस कार्यक्रममा वडाका सबै परिवारलाई समेट्छौं ।’

 

चालू आर्थिक वर्ष करिब ४० आमालाई बाख्रा वा सुँगुर वितरण गर्ने वडा कार्यालयले जनाएको छ । आगामी माघ-फागुनमा महिलालाई रोज्न लगाएर बाख्रा वा सुँगुर वितरण गरिने वडाध्यक्ष राउतले जानकारी दिए । गत वर्ष एकल महिलालाई बाख्रा वितरण गरेको वडा कार्यालयले ‘बाख्रा तथा सुँगुर पेवा कार्यक्रम’ कार्यान्वयनमा ल्याएको हो ।