close

माझी बस्तीमा कुखुराका खोर बनाउँदै पुतलीबजार

माझी बस्तीमा कुखुराका खोर बनाउँदै पुतलीबजार

Trulli
ADVERTISEMENT

सागर न्यौपाने - स्याङ्जाको पुतलीबजार नगरपालिकाको वडा-१३ मा रहेको माझी बस्तीमा कुखुराका खोर निर्माण गरिदिएको छ । माछा मारेर गुजारा चलाउँदै आएका माझी समुदायको आयआर्जनमा सहयोग पुर्‍याउन नगरपालिकाले खोर निर्माण बनाइदिएको हो । 


नगरले कुखुराको खोरमा आवश्यक पर्ने औजार तथा कुखुराका चल्ला, दाना र औषधी व्यवस्था गरिदिएको स्थानीय उमामाया माझीले बताइन् । पुतलीबजारले माझी बस्तीका २४ घरधुरीमा ३० लाखको लगानी गरी २४ कुखुराका खोर, दुई घर र गोरेटो बाटो निर्माण गरिदिएको छ । 


यसले २४ घरधुरीका एक सय २५ माझी परिवार लाभान्वित भएका छन् ।  त्यसैगरी नगरले कुखुरालाई आवश्यक पर्ने दाना र औषधी पनि उपलब्ध गराएको छ । ‘बस्ती अवलोकनका क्रममा माझी समुदायको दयनीय अवस्था देखेर संघ सरकारसँग समन्वय गरी ३० लाख माझी बस्तीमा सहयोग गरेका हौं’, नगरप्रमुख सीमाकुमारी क्षेत्रीले भनिन् ।

 

माझी बस्तीको उत्थानका लागि नगरपालिकाले पनि सहयोग गर्दै आएको उनले जानकारी दिइन् । 

 

नगरपालिका कार्यालयबाट आर्थिक तथा प्राविधिक सहयोगपछि लोपान्मुख अवस्थामा रहेको माझी बस्तीको मुहारै फेरिएको छ । माझी बस्तीमा खरले छाएका पुराना घरलाई अहिले जस्तापाताले टल्काइएको छ ।

 

यो समुदायका स-साना बालक अध्ययनका लागि विद्यालय जाने गरे पनि वयस्क युवक-युवतीहरू र ज्येष्ठ नागरिक माछा मार्ने र गिटी-बालुवा बोक्ने काम गर्छन् ।