close

२० मिटर सडक भएको पालिकामा ३ वर्षमै ८५ किमि सडक सञ्जाल 

यो वर्ष मात्रै २ अर्ब खन्याइँदै

२० मिटर सडक भएको पालिकामा ३ वर्षमै ८५ किमि सडक सञ्जाल 

यो वर्ष मात्रै २ अर्ब खन्याइँदै

Trulli
ADVERTISEMENT

कास्की– विकास भनेकै सडक । अहिले पनि नेपालका हरेक गाउँको विकासे परिभाषा सडकमै पुगेर जोडिन्छ । जहाँ सडक, त्यहाँ विकास । यो परिभाषा मात्रै होइन, अपरिहार्य पूर्वाधार पनि हो ।


धेरैको अनुमानमा कास्कीलाई विकसित जिल्ला भनिने गरेको छ । तर, कास्कीका ५ मध्ये ३ वटा पालिकामा २ वर्षअघिसम्म कालोपत्रे सडकै थिएन । मादी गाउँपालिकामा अहिले पनि कालोपत्रे सडक पुगेको छैन । माछापुच्छ«ेमा बल्ल कालोपत्रे गर्न थालिएको छ । 


रूपा गाउँपालिकाले सडकमा धेरै फड्को मारेको छ । २० मिटरको पक्की सडक हुँदा छिरेका यहाँका जनप्रतिनिधिले धेरै दुःख गरे । सडकले पालिकाको रूप फेर्ने अभियानमा छन्, उनीहरू । सडक सञ्जालले पालिकाका सबै वडालाई छोएको छ । पालिका बन्नुअघि ट्रयाक मात्रै खोलिएको यहाँका सडक अहिले धमाधम स्तरोन्नति हुन थालेका छन् । बेगनासदेखि भोर्लेटार जोड्ने सडक कालोपत्रे हुँदै छ ।


वडा जोड्ने सडकमा पनि काम भइरहेको छ । यही वर्षभित्र ८५ किलोमिटर सडक कालोपत्रे गर्न टेन्डर भइसकेको गाउँपालिका अध्यक्ष नवराज ओझाले बताए । ‘सबै योजनाको टेन्डर भइसक्यो । केही निर्माणाधीन छन्’, उनले भने, ‘२० मिटर पनि पिच सडक थिएन । पालिका अध्यक्ष भनेर कतै परिचय दिनुपर्दा लाज हुन्थ्यो । यो बीचमा धेरै काम गरेजस्तो अनुभूति भएको छ ।’


पालिकाले अघिल्लो वर्षलाई पूर्वाधार वर्षको रूपमा घोषणा गरेर आधाभन्दा बढी बजेट सडकमै खर्चियो । अहिलेसम्म १७ किलोमिटर कालोपत्रे र ६ किलोमिटर ढलान भइसकेको छ । 


रूपाकोटदेखि थुम्कीसम्मको १३ किलोमिटर सडक बनिसक्यो । बेगनास–भोर्लेटार १२ किलोमिटर सडकमा काम भइरहेको छ । शिशुवा–पोल्याङटारसम्मको १६ किलोमिटर निर्माणाधीन छ । 


पालिकभरि ७ वटा मुख्य सडक छन् । सबै वडालाई छुने गरी रिङरोड बनाउने काम अघि बढेको छ । गाउँपालिकाको गौरवको योजनाका रूपमा रिङरोडलाई पूर्णता दिइने पालिकाले जनाएको छ । 


६४ किलोमिटरको चक्रपथले पालिकालाई घेर्ने अध्यक्ष ओझा बताउँछन् । पहिलो खण्ड पोल्याङ–पैmँचोकसम्मको १० किलोमिटर सडकको काम सुरु भएको उनको भनाइ छ । पालिकासँग जोडिने विभिन्न कनेक्टिङ सडकलाई समेत प्राथमिकतामा राखेर काम भइरहेको छ । 


पालिकाका अनुसार सबै सडक कम्तीमा ५ मिटर फराकिला हुनेछन् । ढलान सडक भने ४ मिटर फराकिलो बनाइएको छ । ‘एउटा स्ट्यान्डर्ड कायम गरेका छौँ । पालिकाले सडकको छुट्टै मापदण्ड बनाएको छ’, उनले भने, ‘प्राविधिकलाई खटाएर स्तरीय काम गराएका छौँ ।’

 

यो वर्ष मात्रै सडक निर्माण र स्तरोन्नतिमा झन्डै २ अर्ब लगानी हुँदै छ । रूपाको योजनामा प्रदेश र संघ सरकारले पनि राम्रै सघाएका छन् ।त्यसमध्ये संघको ७० करोड छ भने प्रदेशले १ अर्ब १० करोड रुपैयाँ लगानी गर्नेछ । पालिकाको आफ्नै ८ करोड कालोपत्रेका लागि र थप ३ करोड रुपैयाँ ढलानका लागि छुट्याइएको छ । 


कनेक्टिङतर्फको ५ किलोमिटर सडकलाई अमेरिकन अस्फाल्ट प्रविधिबाट पिच र साना सडकलाई ढलान गरिएको छ ।