close

दोभान बजारका अग्निपीडितलाई मेरिङ्देन परिवारको सहयोग

दोभान बजारका अग्निपीडितलाई मेरिङ्देन परिवारको सहयोग

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिले १५ दिनको सेवा-सुविधाबापतको रकम दोभान बजारका अग्निपीडितलाई दिने भएका छन् । 

 

गाउँ कार्यपालिका, स्वास्थ्य चौकी, वडा कार्यालय, सामुदायिक स्वास्थ्य इकाइ र पालिकाभित्रका ३६ वटा विद्यालयमा कार्यरत शिक्षक/कर्मचारीको १ दिनको तलब दोभान बजारका अग्निपीडितलाई दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले जानकारी दिए ।

 

जनप्रतिनिधि र कर्मचारी दुवैको सहयोग रकम मेरिङ्देन गाउँपालिकाको प्रकोप व्यवस्थापन खातामा जम्मा गरिनेछ । 

 

गाउँपालिकाले तोक्यो मापदण्ड

 

मेरिङ्देन गाउँपालिकाले दोभानलाई नमुना बजारको रूपमा पुनर्स्थापित गर्न नयाँ मापदण्ड तय गरेको छ । अब घर निर्माणमा इँटा तथा ढुंगा प्रयोग गरी पिलरसहित अनिवार्य पक्की घर निर्माण गर्ने-गराइनेछ भने घरको नक्सा पास शुल्क भने मिनाहा गरिएको छ । 

 

यस्तो अवस्थामा गाउँपालिकाले घर नक्साको ड्रोइङ डिजाइनको लागतमध्ये बढीमा १५ हजार रुपैयाँसम्मको खर्च मात्र गाउँपालिकाले बेहोर्नेछ । घर दोभान बजारमा पेट्रोलियम पदार्थको बिक्री वितरण आयल निगमले तोकेको मापदण्डबमोजिम मात्र गराइनेछ ।

 

बजारभित्रको सडकको क्षेत्राधिकार न्यूनतम ६ मिटर तोकिने भएको छ भने सडक र मुख्य सडक जोड्ने नयाँ २ वटा सडकको क्षेत्राधिकार कम्तीमा ३.५ मिटर तोकिनेछ । मुख्य सडकको क्षेत्राधिकार तमोर करिडोर आयोजना तथा सडक डिभिजनसँग समन्वय गरी कार्यान्वयन गर्ने निर्णय भएको मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आङ्देम्बेले बताए ।

 

गाउँपालिकाले दोभान बजारमा रहेको नेपाल टेलिकमको टावर तथा क्षतिग्रस्त झोलुंगे पुल पुनर्निर्माणका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने भएको छ । गाउँपालिकाले व्यवसायीको मौज्दात मिलान, कर दाखिला र कर समायोजनका लागि सम्बन्धित कर कार्यालयमा अनुरोध गर्ने निर्णयसमेत लिएको प्रमुख प्रशासकीय अधिकृत आङ्देम्बेले जानकारी दिए ।

 

गत १८ फागुनमा भएको मेरिङ्देन गाउँपालिका वडा नम्बर ३ स्थित खाम्लुङको दोभान बजारमा भएको आगलागीमा परी ५० घर नष्ट र ६३ परिवार विस्थापित भएका छन् । आगलागीबाट करिब ४० करोड रुपैयाँ बराबरको क्षति भएको विवरण छ ।