close

सक्षम मेलमिलापकर्ता उत्पादन गर्दै सूर्यविनायक

सक्षम मेलमिलापकर्ता उत्पादन गर्दै सूर्यविनायक

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले मेलमिलापसम्बन्धी उच्च तहको तालिम दिएको छ । सूर्यविनायक नगरपालिका र न्यायिक समितिको आयोजनामा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रको सहकार्यमा ५ दिने तालिम सम्पन्न भएको हो ।

 

नगरपालिकाले वडा स्तरमा मेलमिलाप केन्द्र स्थापना गर्ने उद्देश्यले १७ जना मेलमिलापकर्तालाई उच्च तहको तालिम दिएको हो । तालिम लिएका मेलमिलापकर्तालाई वडा तथा नगर स्तरमा आएका विवाद मेलमिलाप गराउन खटाइने नगरपालिकाले जनाएको छ । 

 

नगर उपप्रमुख तथा न्यायिक समितिका संयोजक जुना बस्नेतले हालसम्म ७४ जनालाई मेलमिलापसम्बधी सामान्य तालिम दिए पनि त्यसले अपुग भएपछि सोही समूहका १७ जनालाई उच्च तहको तालिम दिइएको बताइन् । 

 

‘हामीले वडा नम्बर ९ र १० मा वडा स्तरीय मेलमिलाप केन्द्र स्थापना गरिसकेका छौँ,’ उनले भनिन्, ‘अबको १ महिनाभित्र सबै वडा तथा नगरपालिकामा समेत मेलमिलाप केन्द्र स्थापना गर्नेछौँ । यसले मेलमिलाप गर्न सहयोग पुग्नेछ ।’ 

 

सानो कुरामा विवाद भई ठूलो रूप लिने भएकाले त्यसलाई समयमै सल्ट्याउन आवश्यक रहेको प्रमुख प्रशिक्षक तथा केन्द्रका अध्यक्ष चुपबहादुर थापाले बताए । ५ दिने तालिममा मेलमिलापकर्तालाई फाटेको मनलाई सिउने विधिसम्बन्धी आवश्यक जानकारी दिएको उनको भनाइ । 

 

विगत समय आफ्नो खुसीले मेलमिलाप गरे पनि अबका दिनमा द्विपक्षीय विवादको विषयलाई जरोमै पुगेर मेलमिलाप गर्ने दाबी सहभागीले गरे । ‘हिजो हामीले विवादको विषयलाई मात्र मिलाउँथ्यौँ,’ मेलमिलापकर्ता आस्था शिवाकोटीले भनिन्, ‘अब विवाद मात्रै होइन, उनेको, फाटेको मनलाई पनि सिलाउनेछौँ । यो हामीले तालिमबाट सिकेका छौँ ।’