close

कोरोना संक्रमणको चेन ब्रेक गर्ने अभियानमा तिलोत्तमा

कोरोना संक्रमणको चेन ब्रेक गर्ने अभियानमा तिलोत्तमा

Trulli
ADVERTISEMENT

रूपन्देही- तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमणको चेन ब्रेक गर्न कोरोना परीक्षणलाई समुदाय स्तरमै केन्द्रित गरेको छ । महामारी सुरु भएसँगै शंकरनगरमा मात्र गरिएको निःशुल्क कोरोना परीक्षणलाई पछिल्ला दिनमा समुदाय स्तरसम्म पुर्‍याइएको नगरपालिकाले जनाएको छ ।


नगरप्रमुख वासुदेव घिमिरेले समुदाय स्तरमा निःशुल्क कोरोना परीक्षण सुरु भएकाले कन्ट्याक्ट ट्रेसिङमा परेका वा कोभिड-१९ को लक्षणसँग मिल्दाजुल्दा स्वास्थ्य समस्या भएका नगरबासीलाई पायक पर्ने परीक्षण स्थलमा गई कोरोना परीक्षण गराउन अनुरोध गरे ।

 

नगरपालिकाले २ वटा समूह बनाएर १७ वटा वडामै एन्टिजेन परीक्षणको व्यवस्था मिलाएको हो । एन्टिजेन परीक्षणबाट व्यक्तिमा कोरोना संक्रमण भएको वा नभएको तत्काल थाहा हुन्छ । 


मंगलबार वडा नम्बर १७ मा ३४ जनामा गरिएको कोरोना परीक्षणमा ६ जनामा संक्रमण देखिएको स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकामा बुधबार वडा नम्बर १३ र १६ मा परीक्षण हुँदै छ भने २० जेठका लागि वडा नम्बर ९ र १५ तोकिएको छ । 

 

यस्तै, २१ जेठमा वडा नम्बर १२ र १४, २२ जेठमा वडा नम्बर ११ र ८, २३ जेठमा वडा नम्बर १० र ७ मा कोरोना परीक्षण गर्ने कार्यतालिका छ । यसैगरी २४ जेठमा वडा नम्बर ३ र ६, २५ मा वडा नम्बर २ र ५, २६ मा वडा नम्बर १ र ४ मा कोरोना परीक्षण गरिने नगरपालिकाले जनाएको छ ।


पछिल्लो समय समुदाय स्तरमा परीक्षण कम हुँदा संक्रमण घटेको हुन सक्ने आशंका भइरहँदा तिलोत्तमाले परीक्षणलाई समुदाय स्तरमा केन्द्रित गरेको हो । यो परीक्षणले नगरपालिकामा कोरोना संक्रमणको वास्तविक अवस्था बाहिर ल्याउने र यसबाट महामारी नियन्त्रणका लागि आवश्यक थप योजना बनाउन सकिने नगरपालिकाका कोरोना फोकल पर्सन केशव भट्टराईले बताए ।


तिलोत्तमाको पछिल्लो तथ्यांकअनुसार नगरपालिकामा हाल सक्रिय संक्रमितको संख्या ४७५ छ भने मंगलबार मात्र थप १४ जना कोरोना संक्रमित थपिएका छन् । नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा हाल उपचाररत बिरामी ६ जना छन् । नगरपालिकामा हालसम्म ५८३६ जनालाई कोरोना संक्रमण भएकामा ५२१६ जना संक्रमणमुक्त भएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।