close

हिमाका जनप्रतिनिधि नागरिकको सेवामा खटिँदै (भिडियो खबर)

हिमाका जनप्रतिनिधि नागरिकको सेवामा खटिँदै (भिडियो खबर)

ADVERTISEMENT

जुम्ला- कोरोना भाइरसको संक्रमणले मुलुकलाई नराम्ररी गाँज्यो । विभिन्न जिल्लामा सक्रिय संक्रमित थपिए । संक्रमणकै कारण धेरैले ज्यान गुमाए । कतिले खेलाँची गर्दा कोरोनाका कारण मृत्युवरण गर्न बाध्य भए ।  महामारी नियन्त्रण गर्ने क्रममा कतिपय स्थानीय सरकारका जनप्रतिनिधि नै संक्रमित भए । केहीको मृत्यु भएको तथ्यांक छ । अवस्था भयावह उन्मुख भइरहँदा केही जनप्रतिनिधि संक्रमित भएर पनि नागरिकको जीवन रक्षामा खटिएका छन् । संक्रमण फैलन रोक्न आफै पहल गरिरहेका छन् । जुम्लाका हिमा गाउँपालिकामा पनि यस्तै भयो । 


कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि काम गर्ने क्रममै जुम्लाको हिमा गाउँपालिकाका जनप्रतिनिधि संक्रमित भए । वडाध्यक्ष मुनबहादुर बुढा कोरोना संक्रमित भए । महामारीमा नागरिकको सेवामा खटिरहँदा वडाध्यक्ष नै संक्रमित भएका हुन् । कोरोना संक्रमणको बेला होस् या अन्य जनताको काम होस् निकै तदारुकताका साथ आफ्नो जिम्मेवारी पुरा गर्न पछि परेका छैनन् । देशभर फैलिएको कोरोना संक्रमणको दोस्रो लहर जुम्लाको हिमा गाउँपालिकाको गाउँ गाउँमा फैलिसकेको छ ।

 

वडाध्यक्ष मात्र नभई गाउँपालिका अध्यक्ष रजबहादुर शाहीसहित पालिकाभरका १७ जना नागरिकमा कोरोना पुष्टि भयो । तर, दुवै जना १० दिनको हाेमआइसोलेसनपछि पुनः नागरिकको सेवामा खटिएका छन् । हिमा गाउँपालिकाले पाँच शय्याको कोभिड अस्पताल र २० शय्याको आइसोलेसन कक्ष निर्माण गरेपनि संक्रमति संस्थागत आइसोलेसनमा बस्ने गरेका छैनन् ।

 

सवै संक्रमति होमआइसोलेसनमा बसेका छन् । कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि ६ लाख बराबरको स्वास्थ्य सामग्री खरिद गरिएको गाउँपालिकाले जनाएको छ । स्वास्थ्यकर्मी, जनप्रतिनिधि र कर्मचारी सवै मिलेर कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि खटिदै आएका छन् । कोरोना परीक्षण पनि गर्ने गरिएको छ । तर परीक्षणबाट पुष्टि भएका नागरिक भने संस्थागत आइसोलेसनमा बस्न मानेका छैनन् । 


होम आइसोलेसनमा नबस्ने समस्या यहाँ मात्रै होइन अन्य स्थानीय तहमा पनि छ । स्वास्थ्य सामग्रीको अभाव र आइसोलेसन भन्दा घरमै बस्नु उचित ठान्ने संक्रमित पनि छन् । तर, संक्रमित भएर पनि बाहिर हिँडडुल गर्ने, महामारीलाई कमजोर आँक्ने काम भने भइरहेको छ । संक्रमितको हेरचाह गरिरहेका स्थानीय सरकार व्यवस्थापन गर्न मात्रै सकेको छ । तर, नागरिक स्तरबाट हुने हर्कतका कारणले सिंगो गाउँपालिका नै संक्रमणको चपेटामा पो पर्ने हो कि भन्ने चिन्ताले सताइरहेको छ ।